‘मिस तामाङ २०२२’ को उपाधि रञ्जना स्याङ्बो तामाङलाई

एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको चौधौं संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि सुरक्षित गरेकी हुन् ।

राष्ट्रिय सभागृहमा शनिबार भएको फिनालेमा ‘मिस तामाङ २०२२’ रञ्जनालाई ‘मिस तामाङ २०२१’की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन् । रञ्जनाले उपाधिसँगै एक लाख नगद तथा गिफ्ट ह्याम्पर पाएकी छिन् ।

प्रतियोगितामा काभ्रेकी पुजा तामाङ ‘फस्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ भए ।

कार्यक्रममा तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिङ्की घिसिङ, ‘मिस नेपाल २०१९’ की अनुश्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए ।

कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियुका पूर्व अध्यक्ष तथा सभासद नवीना लामा रहेकी थिइन् । मम्स इन्टरनेसनल नेपालका अध्यक्ष रन्जिता लामाले तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबद्र्धधन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन् ।

कार्यक्रममा गायक तथा सडक विभागका सह–सचिव देवकुमार तामाङ, नेपाल सरकारका पूर्व सचिव धनबहादुर तामाङ, फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष तथा फिल्म निर्देशक बिनय दोङ तामाङलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेता अमिर दोङ र सुश्मा मोक्तानले नृत्य प्रस्तुत गर्दा सन्जोक योन्जन र कुन्साङ वाइबाले गीत गाएका थिए । कार्यक्रम कोरियोग्राफर रोजिन शाक्य र सिर्जना पाख्रिनले सञ्चालन गरेका थिए ।