सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस: नेपाली फिल्ममा महिला निर्देशक

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।

नेपाली फिल्म उद्योगले आधा शताब्दी भन्दा लामो यात्रा पार गरिसकेको छ । बदलिदो राजनीतिक तथा सामाजिक परिवेश संगै फिल्महरु पनि परिवर्तित हुदैछन् । तर पनि अन्य क्षेत्रहरुमा जस्तै नेपाली फिल्म उद्योगमा पनि महिलाहरुको सहभागिता भने नगन्य नै छ । पर्दा पछाडी बसेर काम गर्ने महिलाहरु सिमित मात्र छन्, अझ निर्देशनको कुरा गर्ने हो भने त औलामै गन्न सकिन्छ ।

नेपाली फिल्म उद्योगमा पनि महिला निर्देशकहरुको संख्या बढ्दै गईरहेको छ । नेपाली फिल्मकी पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ हुन् । उनले बि. सं. २०६२ मा ‘प्रेम युद्ध’ निर्देशन गरेकी थिइन् । उनी नेपाल चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष समेत बनिन् । त्यसै गरि सम्पादनबाट निर्देशक बनेकी रक्षा सिंह राणाले पनि ‘द गेम’ निर्देशन गरिन् । हाल उनी नेपाल चलचित्र निर्देशक समाजकि अध्यक्ष हुन् । दीपा बस्नेतले ‘अन्तराल’ र ‘श्री पाँच अम्बरे’ गरेर दुइ फिल्म निर्देशन गरिन् ।

सम्झना उप्रेती रौनियारले ‘मेघा’ र ‘फागु’ निर्देशन गरिन् । संगीता श्रेष्ठले विभिन्न तिन प्रेमकथाहरु जोडेर ‘कथा काठमाडौँ’ बनाइन् । त्यस्तै काफल पाक्योका निर्देशक साबित्रि खत्रिको भने यो पहिलो फिल्म हो । सुचित्रा, रक्षा, दीपा र सम्झनाले फिल्म निर्देशन नगरेको धेरै भैसकेको छ । पहिलेका महिला निर्देकहरुले निर्देशन गरेका फिल्महरुले खासै चर्चामा आउन सकेनन् ।

अभिनेत्री रेखा थापा लगायत अन्य केहिले पनि निर्देशनमा हात हाले, तर उनीहरुले सम्झिन लायक काम भने केही गरेका छैनन् । केही बर्ष पहिले रेखा थापाले पनि हिम्मतवाली फिल्मको निर्देशन गरेका थिए । यो फिल्मले पनि राम्रै चर्चा पाएको थियो ।

केहि महिला निर्देशकहरुले भने सफलता पाइसकेका छन् र भबिष्यको लागि सम्भावनाहरु पनि देखाएका छन् । दीपाश्री निरौला, झरना थापा र रेनेशा वान्तवा राइलाई त्यहि सुचीमा राख्न सकिन्छ । अभिनयबाट निर्देशनमा हात हालेकी दीपाश्री निरौला निर्देशित पहिलो फिल्म ‘छक्का पन्जा’ हो । मिश्रित प्रतिक्रिया पाए पनि फिल्म सबै भन्दा धेरै पैसा कमाउने नेपाली फिल्म बन्यो । यहि फिल्मले नेपाली फिल्मको बजारको सिमाना पनि देखायो ।

‘छक्का पन्जा’ पछि दीपाले ‘छक्का पन्जा’ कै दोस्रो र तेस्रो भाग निर्देशन गरिन् । दुवै सिक्वेलले राम्रो पैसा पनि छाप्यो । केहि समिक्षकहरुले उनका फिल्महरुको खेदो खने पनि ति फिल्महरुकै कारण हलमा दर्शकहरुको चहल पहल बढेको कुरा नकार्न सकिदैन ।

‘ए मेरो हजुर’ बाट अभिनयमा डेब्यु गरेकी झरना थापाले ‘ए मेरो हजुर – २’ बाट निर्देशनमा पाइला टेकिन् । फिल्म सफल भयो । उनले ‘ए मेरो हजुर – ३’ पनि निर्देशन गरिन्, फिल्ममा अनमोल केसीलाइ मुख्य भूमिकामा लिइन र आफ्नी छोरी सुहाना थापा लाई पनि डेब्यु गराइन् । अनमोल केसीको फिल्महरु ले लगानी उठाउन नसकेको अवस्थामा यो फिल्म राहत बनेर निस्कियो र अनमोलको करियरकै सबैभन्दा बढी कमाउने फिल्म बन्न सफल भयो । अहिले झरना ‘ए मेरो हजुर – ४’ मा ब्यस्त छिन् ।

लामो समय करियोग्राफरको रुपमा काम गरेपछि रेनेसा वान्तवा राईले ‘इन्टु मिन्टू लन्डनमा’ बाट निर्देशनमा डेब्यु गरिन् । समीक्षात्मक हिसाबले फिल्म राम्रो थिएन तर फिल्मले राम्रै व्यापार गर्न सफल भयो । धिरज मगरलाई डेब्यु गराएकी रेनेशाले फेरी उनैलाई लिएर ‘आइ एम ट्वेन्टी वन’ घोषणा गरेकी थिइन् ।

पुरुष निर्देशकहरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाएका यी महिलाहरु भबिष्यमा अझ परिस्कृत र उत्कृष्ट फिल्महरु बनाउन सफल होउन्, नारी दिवसको शुभकामना ।