पल शाह प्रकरण : युट्युव मार्फत पीडितको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

नेपाल प्रहरीले युट्युब च्यानलमार्फत् अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने दुईजनालाई पक्राउ गरेको छ।

नाबालिग पीडितको चरित्रहत्या गरेको आरोपमा हरि उदासी भनिने हरि परियार र विशाल नेपाल नामक युट्युबका सञ्चालक निशान चिलवाल पक्राउ परेका छन्।

प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत् भ्रामक समाचार सम्प्रेषण गरी चरित्र हत्या गर्ने नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका हरि परियार र लमजुङ राइनास नगरपालिका घर भई तारकेश्वर शेषमती बस्ने २७ वर्षीय निशान चिलुवाललाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका परियारले ‘नेपाल मिडिया’ र चिलुवालले ‘विशाल नेपाल’ नामक युट्युब च्यानलमार्फत् गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

प्रहरीको साइबर ब्युरोले यी दुबैलाई पक्राउ गरेर अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएको छ। कलाकार पल शाहले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि उदसीले युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यकासाथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अनर्गल प्रचार गरेको प्रहरीको आरोप छ।

उदासीले नेपाल मिडिया नामक युट्युबमा नाबालिग पीडित विरुद्ध बोल्दै उनकै दोष रहेको दाबी गरेका थिए।

दुवै विरुद्ध  प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा  काठमाडौँ जिल्ला अदालतको अनुमतिमा पक्राउ गरेको हो। अदालतबाट दुवै जनाको ७/७ दिन म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ।

पक्राउ दुवैलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । यस्तै २ दर्जन बढि युट्युवरबारे अनुसन्धान गरिरहेको छ।