नायिका करिष्मा मानन्धर एमाले प्रवेश गर्दै

नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका करिष्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्ने तयारी गरेकी छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी उनले केही समयमै एमालेमा प्रवेश गर्ने बताएकी छन् ।

मानन्धरले फेरि राजनीति सुरु गर्ने मनस्थिति बनाएकी छिन् । नयाँशक्ति पार्टी छाडेर उच्च शिक्षा हासिल गर्न अध्ययनमा लागेकी उनी अब एमाले अध्यक्षसँग भेटघाट तीव्र बनाई एमाले प्रवेश गर्ने तयारीलाई अन्ततः अन्तिम रुप दिएकी हुन् ।

ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । औपचारिक रूपमै कार्यक्रम गरेर पार्टी प्रवेशको तयारी रहेको छ । करिश्माले भनिन्,  ‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । एउटा विचार लिएर अघि बढ्नैपर्छ, यदि राजनीतिमा लाग्ने हो भने त ।’

उनले अगाडि भनिन्, “मैले धेरै सोचविचार र छलफल तथा तयारी गरेँ । राजनीति नै गर्ने हो भने कुन पार्टीबाट गर्दा ठिक हुन्छ भनेर पनि सोचेँ,” करिष्माले भनिन्, “त्यसैले एमाले अध्यक्षसँग पटक–पटक छलफल पनि भयो । उहाँले मलाई राजनीतिबारे धेरै कुरा भन्नुभएको छ । त्यहीअनुसार मैले आन्तरिक तयारी पनि गर्नुछ ।”

उनी वैशाख ९ गते प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रवेश गर्ने भएकी छन् ।  एमाले प्रवेश गरे पनि आफूले ठूलो अपेक्षा भने नराखेको बताइन् । यद्यपि, तीनै तहका निर्वाचनको पूर्वसन्ध्या भएकाले यो उचित समय भएको आफ्नो आकलन रहेको उनले स्पष्ट पारिन् ।