अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’

प्रदर्शनको संघारमा रहेको फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् ।

कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जनाएका छन् । अहिलेको चलिरहेको अष्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ निर्माता महेशले भने, ‘ लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

‘चिसो एष्ट्रे’ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो । चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाखसम्म पैसा पाएका थिए । निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अष्ट्रेलिया नै रहेकाले पनि उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुनसक्ने बताए ।

‘फिल्म निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनको अष्ट्रेलियाको सिड्नीबाहेक एडिलेड र तास्मानियामा पनि आफ्नै अफिस छ । फाउन्डेसनमार्फत अष्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने हाम्रो लक्ष्य छ,’ महेशबाबुले भने, ‘त्योबाहेक हामी सब टाइटल गरेर त्यहाँका हलमा पनि फिल्म लगाउँदैछौँ । यो सबै हिसाब गरेर फिल्मको अधिकार बेचिएको हो ।’

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मले ट्रेलर सार्वजनिकीकरण पछि राम्रो चर्चा पाइरहेको छ । फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ । फिल्म चैत ४ अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।