प्रकाश सपुतको गीतमा उत्तेजीत नहुन प्रचण्डको अपिल

गायक प्रकाश सपुतको शब्द, संगीत, स्वर, अभिनय र निर्देशनमा तयार भएको गीत ‘पीर’ चर्चामा छ । यो गीतले माओवादी जनयुद्धमा होमिएका ३ जना लडाकुकोे कथा भनेको छ ।

भिडियोमा माओवादी जनयुद्धका कारण केही मानिसको जीवन परिवर्तन भएपनि अधिकांश लडाकुहरुको जीवन अगाडि बढ्न नसकेको देखाएको छ । साथमा, कतिपय महिला लडाकुहरुकोे जीवन धान्नका लागि देह व्यापारमा लागेको समेत देखाइएको छ ।

यो दृश्यको भने अहिले सर्वाधिक विरोध भैरहेको छ । माओवादी केन्द्रका केही भातृ संगठनहरुले यो गीत तत्काल हटाउन चेतावनी दिएका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने गीतलाई लिएर उत्तेजित हुन आवश्यक नरहेको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले प्रकाश सपुत राम्रो सिर्जना गर्ने कलाकार भएको भन्दै प्रशंसा समेत गरे ।

उनले, कुनै पनि कलाकारले गीतलाई विभिन्न कोणबाट तयार गर्न सक्ने भन्दै यसमा धेरै प्रतिक्रिया दिन आवश्यक नरहेकोे बताए । तर, प्रचण्डले माओवादी जनयुद्धलाई एउटै कोणबाट मात्र विश्लेषण गर्न नहुनेतर्फ पनि तर्क गरेका छन् ।