दशैं र तिहारमा छैन डेट,‘छक्का पन्जा ४’ कहिले ?

यदि, निर्माता आफ्नो बोली र फिल्मको बिषयमा अठिग रहे भने आउँदो बर्षको दशैं र तिहार प्याक भैसकेको छ । आउँदो बर्षको दशैंमा नायक अनमोल केसी र नायिका सारा सिर्पालीको मुख्य भूमिका रहेको फिल्म ‘हनी बनी’ प्रदर्शन हुने पक्का भैसकेको छ । यस्तै, यही मितिमा फिल्म ‘परदेशी २’ पनि प्रदर्शन हुने पक्का गरिएको छ ।

तिहार पनि निर्माताले बुक गरिसकेका छन् । तिहारमा फिल्म ‘२ नम्बरी र परस्त्री’ प्रदर्शन गर्ने घोषणा निर्माताले गरिसकेका छन् । यसरीहेर्दा, आउँदो बर्षको दशैंमा यदि यी ४ फिल्मको मिति हेरफेर भएन भने अरु नेपाली फिल्मका लागि सहज नहुने निश्चित छ ।

आउँदो बर्षको दशैंमा फिल्म ‘छक्का पन्जा ४’ प्रदर्शन गर्ने निर्माता दीपकराज गिरीले बताउँदै आएका छन् । तर, यो फिल्मको छायांकन सुरु भएको छैन । निर्देशक दीपाश्री निरौलाले वैशाखबाट काम सुरु गर्ने योजना रहेको बताएकी छिन् । फिल्म ‘छक्का पन्जा’को ३ सिरिज दशैं वरिपरी नै प्रदर्शन भएका थिए । दीपकले पनि आउँदो बर्षको दशैंमा फिल्म प्रदर्शन गर्ने बताइसकेका छन् । तर, के उनी बाँकी २ अपेक्षा गरिएका फिल्मसँग जुध्न तयार होलान् त ?