पल शाहलाई नवलपुरबाट फेरि तनहुँ ल्याइयो

एक नाबालिग बलात्कारको अभियोगमा अनुसन्धानका लागि नवलपुरको गैडाकोट पुर्याइएका नायक पल शाहलाई तनहुँ ल्याइएको छ ।

तनहुँ प्रहरीको हिरासतमा रहेका शाहलाई बयानका लागि भन्दै फागुन २४ गते नवलपुर पुर्याइएको थियो।  गौडाकोटमा बयान सकेर फेरि अनुसन्धानका लागि उनलाई मंगलबार तनहुँ ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले बताए । ‘अनुसन्धानका लागि नवलपुर पठाएका थियौँ । अब फेरि यहीँबाट अनुसन्धान हुनेछ’, उनले भने ।

डीएसपी खड्का अनु्सार ४ चैतसम्ममा पललाई हिरासतमा राखेर अनुसन्धान गर्नलाई जिल्ला अदालत तनहुँबाट म्याद लिइएको छ । अनुसन्धानको क्रममा रहेकाले फेरी पनि म्याद थप हुन सक्ने उनले संकेत गरे । तनहुँ प्रहरी समक्ष ११ फागुनमा शाहविरुद्ध उजुरी परेको थियो । उक्त प्रहरी कार्यालयमा पनि उनीविरुद्ध उजुरी परेपछि थप अनुसन्धानका लागि त्यहाँ लगिएको थियो ।

जिल्ला अदालत तनहुँबाट शाहविरुद्ध सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही क्रममा नाबालिगको तर्फबाट नवलपुरको गैडाकोटमा समेत बलात्कार भएको भन्दै जाहेरी दर्ता भएको थियो।

प्रहरीमा उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बालिकामाथि करणी गरेको भन्दै उजुरी परेपछि पल प्रहरी हिरासतमा रहेका छन् ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा अघिल्लो मंगलबार उनलाई तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैडाकोट पुर्याएको थियो । नवलपुरमा बयान सकिएपछि उनलाई मंगलबार तनहुँ प्रहरी हिरासतमा लगिएको हो।

घटनामा जोडिएका पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।