अनमोलसँग रोमान्स गर्न साराले भिडियो नगर्ने

नायिका सारा सिर्पालीका लागि नायक अनमोल केसीसँगको बोन्डिङ सुखद बन्न सक्छ । किनकी, साराले काम गरेका ३ वटा फिल्म नै असफल भैसकेको अवस्थामा उनका लागि बलियो फिल्मको आवश्यकता छ । दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हनी बनी’ उनको करिअरका लागि कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ ।

साराले यो फिल्ममा नायक अनमोल केसीसँग रोमान्स गर्दैछिन् । फिल्मको छायांकन लण्डनमा हुनेछ । यो फिल्म रिलिज अगाडि साराले कुनै पनि म्युजिक भिडियोमा काम नगर्ने सहमती गरेकी छिन् । निर्देशक दिवाकर भट्टराइले पनि साराले भिडियोमा काम नगर्ने बताए । फिल्मको वर्कशपमा व्यस्त सारा आफूलाई नयाँ ढंगबाट प्रस्तुत गर्दैछिन् ।

हुनत, साराले म्युजिक भिडियो धेरै गरेकी छैनन् । तर, अब उनलाई आउँदो बर्षको दशैंसम्म म्युजिक भिडियोमा काम नगर्ने गरी दिवाकरले फिल्ममा साइन गरेका छन् । यसकारण, अब सारालाई भिडियोमा खेलाउन चाहने मेकरले दशैंसम्म कुर्न पर्ने देखिन्छ ।