अभिनेता पल शाहविरुद्ध तनहुँ अदालतमा मुद्दा दर्ता

अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा बलात्कार मुद्दा दर्ता भएको छ । नाबालिग गायिकालाई ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध तनहुँ प्रहरीले मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका  शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।

प्रहरीले मंगलबार जिल्ला अदालतमा १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसुरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

अभिनेता शाहसँगै उनका म्यानेजर कृष्ण जोशीमाथि पनि सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ । जोशीले बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी गरिएको छ ।

तनहुँ जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्माले सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा अभियोग पत्र पठाइसकेको बताए । ‘हामीले आफ्नो काम सकाएर अदालतलाई पठाइसक्यौं,’ उनले भने ।

उनीमाथि अनुसन्धान सकिएकाले रायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो ।

बलात्कारको उजुरी परेको केही दिनपछि आफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका शाहलाई प्रहरीले दुई चोटि म्याद थपेर अनुसन्धान गरेको थियो ।

शाहमाथि विभिन्न प्रलोभनमा पारेर नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ । पीडित नाबालिगको तर्फबाट उनका बाबुले तनहुँ प्रहरीमा उजुरी दिएका थिए । नवलपरासीमा यसअघि नै उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।