पल शाहविरुद्धको मुद्दामा बहस सकियो, आजै आदेश आउन सक्ने

नाबालिग गायिकालाई बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस सकिएको छ ।

ललाइफकाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा आज आदेश आउन सक्ने जनाइएको छ ।

पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बहस सकिन समय लागेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालत तनहुँका श्रेष्तेदार मिनबहादुर कुँवरका अनुसार सम्भवतः आज आदेश दिइने छ । हामीलाई प्राप्त जानकारी अनुसार अहिले फैसलाको आदेश लेखिदै छ । अबको एक डेढ घण्टामा थुनछेकको आदेश आउँछ।’

शाहविरुद्धको मुद्दामा अहिले बहस सकिएको छ । पीडित नाबालिगको तर्फको बहस भने हिजो नै गरिएको थियो । ‘आज बेलुकासम्म आदेश के हुन्छ हेरौं । बहस चलिरहेको छ,’ कुँवरले भने ।

सोमबार मात्र प्रहरीले अनुसन्धान सरकारी वकिल कार्यालयमा पेश गरेको थियो । उनीमाथि अनुसन्धान सकिएकाले रायसहित मिसिल वकिल कार्यालय पुर्याइएको हो । बलात्कारको उजुरी परेको केही दिनपछि आफैँ तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका शाहलाई प्रहरीले दुई चोटि म्याद थपेर अनुसन्धान गरेको थियो । शाहमाथि विभिन्न प्रलोभनमा पारेर नाबालिगलाई बलात्कार गरेको उजुरी उनीमाथि छ ।

पीडित नाबालिगको तर्फबाट उनका बाबुले तनहुँ प्रहरीमा उजुरी दिएका थिए । नवलपरासीमा यसअघि नै उनीविरुद्ध मुद्दा दर्ता भइसकेको छ ।

सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेपछि जिल्ला अदालतमा बहस भएको हो।