अनमोललाई आफ्नो स्टारडममाथि कती विश्वास ?

नेपालमा यदि कुनै नायकको नाममा फिल्म चल्छ भने, त्यो अनमोल केसी मात्र हुन् भनिन्छ । यसैले, अनमोल वर्षमा एउटा मात्र फिल्म खेल्छन् । उनको पारिश्रमिक अन्य चलेका नायकको भन्दा करिब करिब डबल छ ।

यसैले, अनमोललाई आफ्नो फिल्मलाई काँधमा बोक्नुपर्ने जिम्मेवारी पनि छ । अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाखको १ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको ट्रेलर सुखद प्रतिक्रिया पाएसँगै यसको व्यापार पनि सुखद नै हुने अपेक्षा गरिएको छ । तर, यही मितिमा साउथको प्रतिक्षित अर्को फिल्म ‘केजीएफ २’ रिलिज हुने तयारीमा छ ।

जसको कारण अनमोल र नायिका सुहाना थापाको ‘ए मेरो हजुर ४’लाई बक्स अफिसमा असर पर्ने पक्का छ । अझ, साउथ फिल्म ‘आरआरआर’लाई लिएर दर्शकमा देखिएको क्रेजले पनि ‘केजीएफ २’को व्यापार आँकलन गर्न सकिन्छ ।

तर, नायक अनमोल केसीले भने आफ्नो स्टारडममाथि विश्वास राखेका छन् । अनमोलले आफूलाई स्टारडमको घमण्ड वा विश्वास भन्दा पनि दर्शक र फ्यानमाथि बढी विश्वास भएको बताए । उनले भने–‘अब, मैले मेरो फिल्मको निर्मातालाई दाई भागौं भनेर भन्न मिल्दैन । मैले भन्ने त हामी सक्छौ, अगाडि बढौं भन्ने नै हो ।’

अनमोल केसीको नाम र फिल्मको ब्रान्डका कारण पनि निर्माताले फिल्मलाई ‘केजीएफ २’सँग जुधाउने आँट गरेका हुन् । के अनमोल आफ्नो स्टारडममाथि सफल होलान् त ?