आमालाई समय दिने भन्दै अनमोलले छाडे ‘ए मेरो हजुर ४’को प्रमोशन

नायक अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । फिल्मको ट्रेलरले राम्रो हाइप पाएसँगै यसको निर्माणपक्ष उत्साहित छ । फिल्मको व्यापार कस्तो होला भन्ने अड्कलबाजी पनि फिल्म क्षेत्र र दर्शकमाझ खुबै भैरहेको छ । यसैविच, यो फिल्मको प्रचारमा नायक अनमोल केसी र नायिका सुहाना थापा देखिदै आएका थिए ।

तर, अनमोलले भने केही दिनका लागि फिल्मको प्रमोशनबाट विश्राम लिएका छन् । अनमोलले विश्राम लिनुको कारण फिल्मको निर्माणपक्षसँग असन्तुष्ट भएर भने होइन ।

अनमोलकी आमा सुस्मिता बोमजम लामो समयपछि नेपाल आएकी छिन् । दार्जिलिङमा रहँदै आएका सुस्मिता लामो समयपछि नेपाल आउन लागेकाले पनि अनमोलले आमाका लागि समय निकालेका हुन् । आमासँग पारिवारिक समय दिने भन्दै अनमोल चितवन जाँदैछन् ।

आमासँग केही दिन छुट्टी मनाउने योजना अनमोलको छ । जसकाकारण, फिल्मको प्रमोशनमा निर्देशक झरना थापा र नायिका सुहाना थापा केही दिन दौडनेछन् । अनमोल शुक्रबार काठमाडौं फर्किएर प्रचारमा सहभागी हुने वुझिएको छ ।

अनमोलका पिता भूवन केसी र आमा सुस्मिताविच केही बर्ष अघि नै डिभोर्स भएको हो । बाबु–आमाको डिभोर्स भएपछि अनमोल बुबासँग बस्दै आएका छन् । तर, उनले आमालाई पनि समय दिइरहेका हुन्छन् ।