हात जोड्दै झरनाले भनिन्–‘हाम्रो पनि आँशु आउँछ, गाली नगर्नुहोस्’

नायिका झरना थापाले हात जोड्दै विनाकारण कलाकारहरुलाई गाली नगर्न आग्रह गरेकी छिन् । फिल्म ‘ए मेरो हजुर ४’को प्रमोशनका क्रममा मिडियासँग कुराकानी गर्दै झरनाले आफूले दर्शकको विनाकारण गाली खाएको भन्दै चित्त दुखाएकी हुन् । फिल्म ‘ए मेरो हजुर ४’को शिर्ष गीत रिलिजका क्रममा झरनाले ‘महानायक’ राजेश हमालको बिषयमा बोलेकी थिइन् । सो समयमा उनले बोलेका भिडियोको टुक्रा काटेर गलत अर्थ लगाइएको थियो ।

सोही बिषयमा झरनाले भनिन्–‘मैले राजेश हमाललाई महानायक कहाँ भनेको छैन । महानायक हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोली पनि रहनुहुन्छ । तर, मैले बोलेको कुरालाई टुक्रा बनाएर गलत अर्थ लगाइयो ।’

झरनाले आफूहरुको पनि मन हुने भन्दै विनाकारण गाली गर्दा चित्त दुख्ने र आँशु आउने बताइन् । भनिन्–‘हामी पनि मानव हौं, हाम्रो पनि आँशु आउँछ । हामीले रोएको दर्शकको अगाडि पो देखाउँदैनौं त । कृपया हजुर, कलाकारलाई गाली नगरिदिनुहोला ।’

‘ए मेरो हजुर ४’ले अहिलेका यूवायूवतीको कथा भन्ने भन्दै झरनाले नेपाली संकृती र नेवारी परम्परालाई पनि फिल्मले देखाउन खोजेको बताइन् ।

नेपाली फिल्मका दर्शकले माया गरेकै कारण आफू २५ बर्षदेखि यो क्षेत्रमा रहेको भन्दै झरनाले दर्शकको माया नपाउने हो भने काम गर्नुको पनि अर्थ नहुने तर्क गरिन् । वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’लाई लिएर आफूले दबाब महशुश गरिरहेको उनले बताइन् । तर, वैशाख १ गते नेपालीको नयाँ बर्ष भएकाले कुनै विदेशी फिल्म आएपनि पछि नहट्ने अठोट गरेको उनको तर्क छ ।