पललाई थुनामा राख्न लिएका प्रमाण उच्च अदालतले माग्यो

अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा लिएका प्रमाण उच्च अदातल पोखराले मागेको छ।

उच्च अदालत पोखराले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका शाहलाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात माग गरेको हो ।

शाहले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले जिल्ला अदालत तुनहुँसँग शाहलाई थुनामा पठाउने आदेश गर्दाको प्रमाणमा लिएका कागजात प्रमाणित प्रतिलिपि माग गरेको हो ।

शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

‘उनको निवेदन अनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्छ । यो प्रारम्भिक सुनुवाइ मात्र हो,’ सूचना अधिकारी आचार्यले भने ।

शाह गत चैत्र १० गतेदेखि पुर्पक्षको लागि थुनामा छन् । तनहुँ जिल्ला अदातले उनलाई थुनामा राख्न आदेश दिएको थियो । उनका म्यानेजर कृष्ण जोशी भने १ लाख धरौटीमा छुटेका थिए ।