सधै भिडन्तको मारमा अनमोल, तर हारेको रेकर्ड छैन

नायक अनमोल केसीले अभिनय गरेको फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गतेबाट रिलिज हुँदैछ । तर, यसपटक अनमोललाई अघिल्ला बर्षको भन्दा धेरै दबाब छ । कारण, यो पटक उनी साउथको महंगो बजेटमा बनेको प्रतिक्षित फिल्म ‘केजीएफ २’सँग जुध्ने तयारीमा छन् । यसैले, अनमोलको स्टारडम यसपटक देखिनेछ ।

तर, अनमोल केसी कुनै अर्को फिल्मसँग जुध्न लागेको घटना पहिलो पटक भने होइन । अनमोल अभिनित अघिल्लो फिल्म ‘ए मेरो हजुर ३’ नेपाली फिल्म ‘यात्रा’सँग जुधेको थियो । सलिनमान बनियाँ र मलिका महत्त अभिनित यो फिल्मसँग जुध्दा अनमोलले बाजी मारेका थिए ।

सो समयमा अन्य नेपाली र हिन्दी गरेर अनमोल करिब आधा दर्जन फिल्मसँग जुधेका थिए । सबै फिल्मलाई पन्छ्याउँदै अनमोलको फिल्मले साढे ८ करोड माथिको व्यापार गरेको थियो । अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ अर्को नेपाली फिल्म ‘ब्रेकअप’सँग जुधेको थियो । हेमराज वीसी निर्देशित तथा आशिरमान देशराज र शिल्पा मास्के अभिनित फिल्मसँग जुध्दा पनि अनमोलले बाजी मारेका थिए । ‘क्याप्टेन’ले अपेक्षाकृत कमाई नगरेपनि ‘ब्रेकअप’ निक्कै पछि परेको थियो ।

फिल्म ‘ड्रिम्स’को रिलिज समयमा अनमोल नीता ढुंगाना र आमेष भण्डारी अभिनित तथा दिनेश डीसी निर्देशित फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’सँग जुधेका थिए । २ फिल्म रिलिजको समयमा दिनेशले अनमोल केसीको स्टारडममाथि नै प्रश्न उठाएका थिए । तर, अनमोललको फिल्मले बम्पर व्यापार गर्दा दिनेशको फिल्मले पानी पनि भन्न पाएको थिएन ।

फिल्म ‘कृ’को समयमा पनि अनमोल केसी र नायिका स्वेता खड्काको ‘कान्छी’विच भिडन्त हुने पक्का भएको थियो । तर, स्वेताले फिल्म एक सातापछि सारेपछि भिडन्त टरेको थियो । तर, यही मितिमा हिन्दी फिल्म ‘प्याडम्यान’ रिलिज भयो ।

यसरी बारम्बार अनोल केसीका फिल्म कुनै नेपाली वा विदेशी फिल्मसँग जुधेका छन् र बाजी मारेका छन् । यसपटक, हिट सिरिजको चौथो श्रृङ्खलामा अनमोल साउथको ठूलो फिल्मसँग जुध्ने तयारीमा छन् । यो पटक पनि अनमोलले बाजी मारेको अवस्थामा उनको स्टारडम र क्रेजमा प्रश्न उठाउन कमैले मात्र सक्नेछन् ।