युट्युबमा फर्कियो ‘ए मेरो हजुर ४’को ट्रेलर र गीत, साइबर क्राइममा उजुरी दिने तयारी

आज बिहानदेखि ह्याक भएको बुढासुब्बा डिजिटलको च्यानल रिकभर भएको छ । तर, नाम भने परिवर्तन गरिएको छ । वुढासुब्बाका संचालक नवराज गिरीले मेरो फिल्मसँग भने–‘च्यानल हाम्रो हातमा आइसकेको छ । यस बिषयमा अनुसन्धान गर्न गुगलसँग पनि हामीले आग्रह गरेका छौं ।’

उनले, तत्काल च्यानलको नाम परिवर्तन नगर्ने पनि बताए । भने–‘हाम्रो च्यानल २ बर्ष अगाडि पनि ह्याक भएको थियो । त्यतिबेला ‘म यस्तो गीत गाउँछु २’को प्रचार सामाग्री राखिएको थियो । बारम्बार च्यानल ह्याक भएपछि हामी साइबर क्राइममा उजुरी दिने तयारीमा छौं ।’
बुढासुब्बाको युट्युबमा रहेको हजारौं भिडियोहरु बिहानदेखि हराएका थिए । तर, च्यानल फर्किएसँगै भिडियोहरु पनि देखिन थालेका छन् । फिल्म रिलिजको संघारमा फिल्मको गीत र ट्रेलर गायब भएपछि ‘ए मेरो हजुर ४’का निर्माता सुनिल कुमार थापा तनावमा थिए ।

कतिपयले वैशाख १ गतेदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’को टिमलाई समस्यामा पार्न च्यानल ह्याक गरिएको शंका समेत गरेका थिए । तर, बुढासुब्बाका संचालक गिरीले त्यसो नभएको बताए ।