सौगात–श्रृष्टीको जोडीः प्रेममा सफल, बक्स अफिसमा असफल

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको जोडी प्रेमको सफल यात्रामा उडिरहेको छ । सौगात र श्रृष्टी चाडै नै बैबाहिक जीवनमा बाँधिने तयारीमा पनि छन् । विगत केही बर्षदेखि प्रेम यात्रामा रहेको यो जोडी लिभिङ टूगेदरमा पनि छन् ।
सौगात र श्रृष्टीको जोडी प्रेमको यात्रा सफल भैरहँदा बक्स अफिसमा पनि नराम्रोसँग पिटिएको छ ।

सौगातको हातमा फिल्मको अभाव त छैन । तर, उनी दर्शकलाई हलसम्म तान्न असफल भैरहेका छन् ‘गाजलु’बाट डेब्यू गर्दा दर्शकको माया उच्च पाएकी श्रृष्टी त्यसपछि सफल छैनन् ।

यो बर्ष मात्र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लप्पन छप्पन २’ रिलिज भयो । यो फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएन । फिल्म नराम्रोसँग चिप्लिदा दर्शकले सौगात मल्लका फिल्मलाई विश्वास गर्न छाडेको विश्लेषण गर्न सकिन्छ ।

सौगातको मात्र होइन, श्रृष्टीले सर्वाधिक आशा गरेको फिल्म ‘चिसो एष्ट्रे’ले पनि पानी भन्न पाएन । दर्शकले यो फिल्मप्रति कुनै चासो देखाएनन् । फिल्म रिलिज अगाडि निर्देशक, निर्माता र कलाकारले समेत दर्शकलाई फिल्म भयंकर नै छ जस्तो बनाएका थिए । तर, प्रिमियरमा नै हावा खाएको फिल्म हेर्न दर्शक हलसम्म आएनन् । अझ, श्रृष्टीको भूमिका फिल्ममा सबैभन्दा कमजोर देखियो ।

बक्स अफिसमा सौगात र श्रृष्टी पछारिएका छन् । प्रेममा भने उनीहरु खुशी हुने ठाउँ प्रशस्त छन् ।