राजनीतिमा भूवनः एमालेको टिकट फिर्ता, नयाँ पार्टीबाट मेयरका उम्मेदवार

नेपाली फिल्म क्षेत्रका सफल नायक तथा निर्माता भूवन केसीलाई नेकपा एमालेले संविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने निर्णय गर्यो । भूवन पनि मख्ख परे । तर, एक रात नवित्दै उनको टिकट फिर्ता भयो । नेपाली कलाकारलाई राजनीतिक दलका नेताले प्रचारका लागि मात्र प्रयोग गर्छन् भन्ने पुष्टी भयो ।

यसको केही बर्षपछि भूवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् । तर, यसपटक एमालेले उनलाई मेयर पदका लागि टिकट दिएको होइन ।

स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले भूवनलाई मेयर पदमा उठाउने निर्णय गरेको हो । नेपाली कला, संकृतीका मुर्धन्य व्यक्ति तथा संसारका सबै देशका सद्भावना राजदूत सरह भूमिकामा रहेका भन्दै भूवनलाई मेयर पदमा उठाउने निर्णय गरिएको स्वागत नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, भूवनलाई पार्टीको परराष्ट्र विभागको विभागिय अध्यक्षको जिम्मेवारी समेत दिइएको छ । मेयर पदको उम्मेदवार बनेसँगै भूवन फेरि सक्रिय राजनीतिमा आउने देखिएको छ ।

नेपाली फिल्म क्षेत्रमा राम्रो क्रेज बनाएका भूवनलाई काठमाडौं महानगरका बासिन्दाले कती साथ दिन्छन्, त्यो भोलीको कुरा हो । तर, भूवन केसी फेरि नेपाली राजनीतिमा एकपटक चर्चामा आउने निश्चित छ ।