वर्षालाई ‘२ नम्बरी’बाट आहात, ‘के घर के डेरा’बाट राहत

नायिका वर्षा राउत मंगलबार घोषणा भएको फिल्म ‘के घर के डेरा’को पत्रकार सम्मेलनमा उपस्थित भइनन् । उसो त, यो फिल्मको घोषण दोश्रो पटक भएको हो । पहिलो पटक घोषणा भएको फिल्मको निर्देशक र निर्माता परिवर्तन भएपछि दोश्रो पटक नयाँ टिमसहित घोषणा गरिएको हो ।

फिल्मका कलाकार भने यथावत् नै छन् । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत मुख्य भूमिकामा रहनेछन् । फिल्मलाई यसअघि सुव्रतराज आचार्यले निर्देशन गर्ने र सिङ्गे लामाले निर्माण गर्ने पक्का भएको थियो । तर, २ बर्षसम्म पनि फिल्म निर्माण नभएपछि नयाँ टिमले काम सम्हालेको हो । अब, दीपेन्द्र के खनालले फिल्मको निर्देशन गर्नेछन् ।

नायिका वर्षा राउतलाई भने यो फिल्मले राहत दिएको छ । किनकी, २ बर्ष अगाडि घोषणा भएर चैत्रको १८ गतेबाट छायांकनमा जान लागेको फिल्म ‘२ नम्बरी’बाट उनी बाहिरिइन् । उनको ठाउँमा उपासना सिंह ठकुरीको प्रवेश भएको छ ।

तर, २ बर्ष अगाडि नै घोषणा भएको ‘के घर के डेरा’को टिमले भने नयाँ नायिका राख्ने बिषयमा सोचेन । जसको फाइदा वर्षालाई भयो । दीपेन्द्र के खनाल जस्ता सफल निर्देशकसँग काम गर्न पाउँदा वर्षाको करिअरलाई राहत पक्कै हुनेछ । होइन भने त, उनको करिअर निरन्तर ओरालो लागिरहेको छ ।