२५ करोडमा खिचियो ‘केजीएफ २’को क्लाइमेक्स

साउथका स्टार नायक यशको मुख्य भूमिका रहेको फिल्म ‘केजीएफ २’ अप्रिल १४ तारिखबाट रिलिज हुँदैछ । यो फिल्म बक्स अफिसमा चम्कने अपेक्षा मेकरको छ । पहिलो सिरिज सफल भएकाले पनि दर्शकमा दोश्रो सिरिजको प्रतिक्षा छ ।

फिल्मलाई उत्कृष्ट बनाउनका लागि निर्माताले महंगो रकम खर्च गरेका छन् । सय करोड भारुमा बनेको यो फिल्मको क्लाइमेक्स दृश्यका लागि मात्र २५ करोड खर्च गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पहिलो सिरिज देखेपछि दर्शकमा बढेको उत्साहका कारण निर्देशक प्रशान्त नीले दोश्रो सिरिजका लागि महंगो रकम खर्च गरेका हुन् । फिल्मको क्लाइमेक्स २० मिनेटको रहेको बताइएको छ ।

फिल्ममा बलिउड कलाकार संजय दत्तको भूमिका पनि दमदार छ । संजयका अनुसार, सो समय उनी फोक्सोको क्यान्सरबाट जुधिरहेका थिए । यसैले, निर्माण टिम संजयको स्वास्थ्य अवस्थालाई लिएर डराएको थियो ।

संजयले क्यान्सरको उपचार पनि गराइरहेकाले मेकर्सले क्लाइमेक्समा संजय र यशको एक्सनको दृश्यलाई क्रोमामा खिच्ने तयारी गरेको थियो । तर, संजयले क्रोमामा खिचेको खन्डमा आफूले फिल्म नै छाड्ने चेतावनी दिएका थिए । यसपछि भने फिल्ममा दुई जनाको फाइटको दृश्य खिचिएको थियो ।