पल शाह प्रकरणले ‘ए मेरो हजुर ४’बाट हट्यो दुर्गेशको दृश्य

गायक दुर्गेश थापालाई फिल्म ‘ए मेरो हजुर ४’को एउटा गीतबाट हटाइएको छ । पहिलो चरणको लकडाउन सकिए लगतै छायांकनमा गएको फिल्ममा दुर्गेशको प्रवेश भएको थियो । एउटा क्लब गीतमा दुर्गेशको स्वर थियो । साथै, उनी गीतको भिडियोमा पनि देखिएका थिए ।

तर, पल शाह प्रकरणले सबैभन्दा बढी निशानामा दुर्गेश छन् । पल शाहका फ्यानले दुर्गेश विरुद्ध हलमै नाराबाजी गरेको भिडियोहरु समेत सार्वजनिक भएका थिए ।

यहीकारणले, दुर्गेशलाई फिल्ममा राख्दा दर्शकको नकारात्मक प्रतिक्रिया आउने आशंकमा निर्माण टिमले उनको दृश्य हटाएको हो । फिल्ममा दुर्गेश र्यापरको भूमिकामा देखिएका थिए ।

निर्माण टिमले उनको ठाउँमा र्यापर सुदीप भण्डारी(जी बब)को स्वरमा गीत रेकर्ड गराइसकेको छ । यो गीत सार्वजनिक गर्ने तयारीमा निर्माणपक्ष छ ।

झरना थापा निर्देशित फिल्म वैशाख १ गते रिलिज हुँदैछ । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

तर, दर्शकको निशानामा परेका दुर्गेशका कारण फिल्म कुनै विवादमा नपरोस् भन्ने हेतुले निर्माता सुनिल कुमार थापा र उनको टिमले अन्तिम समयमा यो निर्णय लिएको हो ।