भुवन केसी भन्छन् : ‘म मेयरमा उम्मेद्धवार बन्नका लागि असमर्थ छु’

अभिनेता भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने भएका छन् ।

यसअघि केसी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीबाट मेयर उठ्ने चर्चा चलेको थियो । नेपाली कला, संकृतीका मुर्धन्य व्यक्ति तथा संसारका सबै देशका सद्भावना राजदूत सरह भूमिकामा रहेका भन्दै भूवनलाई मेयर पदमा उठाउने निर्णय गरिएको स्वागत नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको पनि थियो ।

केसीलाई पार्टीको परराष्ट्र विभागसमेतको विभागीय अध्यक्षको जिम्मेवारी पनि तोकिएको अध्यक्ष नेपालले बताएका थिए ।  नेकपा एमालेनिकट रहेका केसी पछिल्लो समय राप्रपा प्रवेश गर्ने हल्ला चलेको थियो ।

अन्तत: केसीले आज सामाजिक सञ्जाल फेशबुकमार्फत आफू अहिले प्राविधिक कारण तथा कार्यव्यस्ततताका कारण मेयरको उम्मेद्धवार बन्नका लागि असमर्थ रहेको स्प्ष्ट पारेका छन् ।

उनले आफू आजको दिनसम्म कुनै पनि पार्टीमा नरहेको जनाएका छन् । सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्, ‘आदरणीय आम नेपाली नागरिक, कला क्षेत्रका सम्पूर्ण शुभचिन्तक तथा मलाई माया गर्ने सम्पूर्ण दर्शकहरू !
उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी मप्रति देखाएको विश्वास र सद्भावका लागि म आफ्नो तर्फबाट मात्र नभई पूरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मान हो भन्ने बुझी आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । उन्नत लोकतन्त्र पार्टीको सो साहसिक निर्णय पनि थियो । उक्त निर्णयको स्वागत गर्ने आम नागरिकहरुप्रति पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

यस बीचमा धेरै भ्रम अनावश्यक चर्चा र आरोप प्रत्यारोपहरू पनि सार्वजनिक भए सो क्रममा म विरुद्ध अनावश्यक र अनर्गल रुपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रुपमा धेरै सकारात्मक र केही नकारात्मक दुवै टिप्पणी गर्ने सबै साथीहरू प्रति पनि म आभार व्यक्त गर्दछु ।

मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने ईच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु । तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहान्छु ।

मैले हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्ष अनुसार नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रविना जनताका अधिकारहरु स्थापित हुन र सुशासन कायम हुन सक्तैन । आशा एवम् विश्वास छ सबै नागरिकहरुबाट राइट टु रिजेक्ट र रिकलको जनताको अधिकारका लागि साथ समर्थन र सहयोग प्राप्त हुनेछ । यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष मेरा प्रिय मित्र मैले मेरो भाइ भनेर सम्बोधन गर्ने अधिवक्ता स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन । गरेको दिन यहाँहरूलाई सहर्ष जानकारी गराउँदै, यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्ने नै छु ।

आउँदो वैशाख ३० गते तोकिएको स्थानीय तहको चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यसअघि र्यापर बालेन शाहले पनि काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।