‘केजीएफ २’ले रंगियो मल्टिप्लेक्स, सिमित शोमा खुम्चियो ‘ए मेरो हजुर ४’

आगामी बिहिबारदेखि रिलिज हुन लागेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले मल्टिप्लेक्समा अपेक्षित शो पाएन । कारण, साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ बन्न पुगेको छ । मल्टिप्लेक्स हलहरु ‘केजीएफ २’लाई उच्च शो प्रदान गर्दै भरिएका छन् । साउथ फिल्मको तुलानामा नेपाली फिल्मले निक्कै कम शो पाएको छ ।

देशकै ठूलो चेन क्यूएफएक्समा ‘केजीएफ २’ले ६९ शोज पाउँदा ‘ए मेरो हजुर ४’ २७ शोमा खुम्चिएको छ । अधिकांश मल्टिप्लेक्सले फिल्मको बुकिङ बुधबार खोलेपनि यसपटक भने एक साता अगाडि नै खोलेका छन् । क्यूएफएक्ससँगै वन सिनेमाज्, वीग मुभिज, रञ्जना लगायतका हलहरुमा पनि विदेशी फिल्म नै भरिभराउ छ ।

बुकिङ खुलेको केही समयमा नै साउथ फिल्मको आक्रामक बुकिङ देखिएको छ । बिहिबारका दिन अधिकांश हलमा टिकट नै नपाउने अवस्था छ । केही मल्टिप्लेक्सले बिहान ६ बजे पनि यो फिल्मका लागि शो उपलब्ध गराएका छन् ।

नेपाली फिल्मको बुकिङ भन्दा पनि रिलिजको दिनमा टिकट ‘डोर टू डोर’ विक्री हुने गरेको पाइन्छ । यसैले, ‘ए मेरो हजुर ४’को व्यापार बिहिबार नै कस्तो हुनेछ भनेर भन्न सकिनेछ । तर, ‘केजीएफ २’ जस्तो ठूलो र प्रतिक्षित फिल्मसँग रिलिज हुने आँट गरेको नेपाली फिल्मलाई प्रदर्शकले पनि सौतेनी व्यवहार गर्नु दुःखद कुरा हो ।