पूजाले विर्सिएरै ‘ए मेरो हजुर ४’को नाम नलिएकी हुन् त ?

आइतबार आयोजना भएको फिल्म ‘संझना विर्सना’को गीत रिलिज कार्यक्रममा नायिका पूजा शर्माले भनिन्–‘हाम्रो फिल्मको ट्रेलर तपाइले केजीएफ २ हेर्दा हेर्न पाउनुहुनेछ । वैशाख १ गतेबाट रिलिज हुने फिल्मसँग हाम्रो फिल्मको ट्रेलर पनि हेर्न पाउनुहुनेछ ।’

पूजाले साउथको फिल्म ‘केजीएफ २’ हेर्दा आफ्नो फिल्मको पनि ट्रेलर हेर्न पाउने तर्क गरिरहँदा प्रश्न उठ्यो, के सोही मितिमा रिलिज हुने ‘ए मेरो हजुर ४’ हेर्दा ‘संझना विर्सना’को ट्रेलर हेर्न पाइदैन र ? पूजाले आफ्नो मुखमा ‘केजीएफ २’ आएकाले सोही फिल्मको नाम लिएको बताइन् । आफूले बोल्न नजानेपनि मनसाय नेपाली फिल्मलाई होच्याउने नभएको उनको भनाई थियो ।

पछि, बोली सच्चाउँदै पूजाले साउथ र नेपाली फिल्मको नाम लिइन् । उनले, वैशाख १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए मेरो हजुर ४’लाई शुभकामना पनि दिइन् । तर, कार्यक्रममा के पूजाले विर्सिएरै ‘ए मेरो हजुर ४’को नाम नलिएकी हुन् त भन्ने प्रश्न भने उठेको थियो ।