‘सम्झना बिर्सना’को ‘परेलीमा’ रोमान्टिक पुजा र आकाश

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक गरिएको छ ।

आगामी जेठ ६ गतेदेखि प्रदर्शनमा आउने  निमेष प्रधान निर्देशित ‘सम्झना बिर्सना’ फिल्ममा समावेश ‘परेलीमा’ बोलको प्रेमगीत सार्वजनिक गरिएको हो ।

अञ्जु पन्त र निमेश प्रधानले स्वर दिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । गायक प्रधानकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा मुख्य कलाकारलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । फिल्म ‘सम्झना बिर्सना’ले दर्शकलाई सम्झना छोड्ने विश्वास निर्माण टिमको छ । भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेता श्रेष्ठले लामो समयपछि आफ्नो फिल्ममा हलमा हेर्न उत्साहित रहेको बताए । सम्पूर्ण टिमले मेहनत गरेकाले सिनेमा राम्रो बनेको उनको भनाई छ । त्यस्तै, पूजाले आफू निर्मात्री पनि भएकाले बाहिरी ब्यानरको फिल्ममा काम गरिरहँदा निर्माता र निर्देशकलाई सुझाव दिने गरेको बताइन् ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मको कथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । फिल्ममा पूजा र आकाशका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राना लगायतका कलाकारहरुको अभिनय छ । फिल्म आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो । आदित्य प्रधान र रेबिका प्रधान यस फिल्मका निर्माता हुन् ।

शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको पटकथा तथा संवाद लेखेका हुन् । कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ ।