‘ए मेरो हजुर ४’ प्रिमियरमा देखियो फिल्मीकर्मीको एकता, अनमोलले वुझ्न आवश्यक छ

फिल्म ‘ए मेरो हजुर ४’को प्रिमियरमा नेपाली फिल्मीकर्मीहरुविच एकता देखियो । एउटा निर्माताको फिल्ममा अरुले साथ नदिने परिपाटी नेपाली फिल्ममा लामो समयदेखि चल्दै आएको छ । अझ, अरुको फिल्मको प्रिमियरमा किन पुग्नु, अरुलाई शुभकामना किन दिनु भन्ने सोच त यहाँ हाबी नै छ ।

तर, बुधबार बेलुकी फिल्म ‘ए मेरो हजुर ४’को प्रिमियरमा फिल्मीकर्मीहरुबिच बलियो एकता देखियो । फिल्म हेर्नका लागि र शुभकामना दिनका लागि फिल्मीकर्मीको बाक्लो उपस्थिती देखियो ।

कलाकार निर शाह, करिश्मा मानन्धर, दीपकराज गिरी, दीपाश्री निरौला, दयाहाङ राई, विपिन कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, हरिहर अधिकारी, निता ढुंगानादेखि नाम चलेका निर्देशकहरु हलमा पुगे ।

फिल्मीकर्मीहरुले आफूहरु एक छौं है भन्ने सन्देश दिन खोजेको प्रष्ट थियो । फिल्मीकर्मीहरुको बाक्लो उपस्थितीले नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा पनि खुशी देखिए ।

अनमोलले सिक्नुपर्ने कुरा

नायक अनमोल केसी रिजर्भ बस्छन् । उनी, सामाजिक संजालमा अरुको फिल्मलाई खासै महत्व दिदैनन् । अरुको फिल्म रिलिज हुँदा हेर्न जाने, प्रिमियरमा आउने, शुभकामना दिने उनको स्वभाव छैन ।

तर, यसपटक फिल्मीकर्मीले दिएको साथले पनि अनमोलले एकताको अर्थ वुझ्न आवश्यक छ । फिल्म क्षेत्रमा मात्र होइन, कही पनि दोहोरो सम्बन्ध चल्नुपर्छ । अनमोलले पनि अरु फिल्मीकर्मी, कलाकारको फिल्म चल्दा यस्तै माया र साथ देखाउन सक्नुपर्छ । सायद, अनमोलले यो कुरा राम्रोसँग वुझेको हुनुपर्छ । आउँदो दिनमा अनमोलबाट अन्य फिल्मीकर्मीले साथ र एकताको अपेक्षा गरेका छन् ।

अनमोल फिल्म क्षेत्रका सबैभन्दा चलेका र स्टारडम भएका नायक हुन् । यसैले, उनको साथले अन्य फिल्मीकर्मी र उनका सहकर्मीलाई ठूलो हौसला मिल्छ । दर्शकमा पनि यसले सकारात्मक सन्देश जान्छ । अनमोलले यो कुरा सिक्न आवश्यक छ ।