‘ए मेरो हजुर ४’ देशैभरी हाउसफूल, चम्कियो अनमोल–सुहानाको स्टारडम

साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ ल्याएर नेपाली फिल्म ‘ए मेरो हजुर ४’लाई तर्साउन खोजिएपनि वितरक र केही प्रदर्शकको योजना असफल भएको छ । आजबाट देशभरका हलमा रिलिज भएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले बम्पर ओपनिङ गरेको छ । बिहानैबाट देशभरका हलमा प्राप्त भएका शोहरुमा फिल्मले हाउसफूल दर्शकको साथ पायो ।

फिल्मको बम्पर ओपनिङ भएपछि नायक अनमोल केसी, नायिका सुहाना थापा र निर्देशक झरना थापा काठमाडौंको अष्टनारायण र आईएनआई हलमा पुगेका थिए । हलमा पुगेका सुहाना र अनमोललाई दर्शकले न्यानो स्वागत गरे ।

अष्टनारायण हलमा फिल्मको ब्रेकमा अनमोल र सुहाना पुग्दा दर्शकको रुवावासी नै चल्यो । केही दर्शक त जाजरकोटबाट अनमोलको फिल्म हेर्न बिहानै काठमाडौं आइपुगेका थिए ।

वितरक, गोविन्द शाहीले देशभरका हलमा सिट नपाएर कैयौं दर्शक फर्किएको बताए । यदि, विदेशी फिल्म जस्तै ‘ए मेरो हजुर ४’ले पनि उल्लेख्य शो पाएको भए व्यापार अझै बम्पर हुने पक्का थियो । यस्तै, बालाजुको आईएनआई हलमा अनमोल र सुहाना पुग्दा दर्शकले हुटिङ गरेर स्वागत गरेका थिए ।

निर्देशक झरना थापाले, यो पैसाको भन्दा पनि प्रतिष्ठाको लडाई भएको भन्दै यसमा सफलता पाएको भन्दै खुशी व्यक्त गरिन् । नायक अनमोल केसी र नायिका सुहाना थापाले पनि दर्शकको मायाले फिल्मको सुखद ओपनिङ भएको बताए ।