मध्यरातमा महंगो टिकटमा ‘केजीएफ २’ देखाउने एफक्यूबलाई के कारवाही हुन्छ ?

नेपाली फिल्महरु प्रदर्शक अर्थात हलवालाहरुको चेपुवामा परेको कुरा त दुइमत रहेन । तर, हलवालाहरुले चाहेको खण्डमा राज्यको कानुनी विपरित कसरी मनोमानी गर्छन् भन्ने उदाहरण बिहिबार बिहान देखिएको छ । चाबहिलमा रहेको ‘एफक्यूब’ हलले साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’को लागि भन्दै बिहान १ बजेको शो राख्यो । थप शो थप्नका लागि सरकारसँग अनुमती लिनुपर्ने नियमको खिल्ली उडाउँदै शो थपियो ।

बिहानी शोको टिकट मुल्य आधा लिनुपर्ने नियमलाई समेत एफक्यूबले खिल्ली उडायो । पैसा कमाउने बेला यही हो भन्दै दर्शकसँग ५५० रुपैयाँ लिएर टिकट बेचिएको थियो ।

५५० मा टिकट काटेर मध्यरातमा हल पुगेका एक पत्रकारले मेरो फिल्मसँग भने–‘दर्शकको भीड उच्च थियो । आधा भन्दा बढी दर्शकले मदिरा सेवन गरेका थिए । तर, गेटमा कुनै पनि सुरक्षा जाँच भएन । हल भित्रै रक्सी लगेर खाएको समेत हामीले देखेका थियौं । केही दर्शकले त गाँजा समेत सेवन गरेका थिए ।’

राती १२ बजेसम्म नयाँ बर्ष मनाएका यूवाहरु फिल्म हेर्नका लागि एफक्यूबमा पुगे, जब उनीहरुले १ बजेका लागि पनि शो खोलिएको थाहा पाए । तर, हलको टिकट बेचेर मध्यरातमा पैसा कमाउने सोचका साथ नियमको समेत खिल्ली उडाएका एफक्यूबका म्यानेजरले बालाजुमा रहेको वीएसआर हलका म्यानेजरलाई पनि शो थप्न भने । उनले, सहजै माने र बीएसआरमा पनि शो थपियो ।

श्रोतका अनुसार, बीएसआरका म्यानेजरले बालाजुमा नै रहेको आईएनआई हलका म्यानेजरलाई पनि शो थप्न भनेका थिए । तर, उनले मानेनन् ।

५५० रुपैयाँको मुल्यमा टिकट बेचेर एफक्यूबले १ बजे शो चलायो । हलमा फिल्म चल्नु अगाडि, फिल्म चलिहरँदा हल्ला निक्कै भएको समेत श्रोतले बतायो । यदि, हलमा कुनै झैझगडा भएको भए के हुन्थ्यो, त्यो बिषयमा प्रदर्शकले कुनै सोच राखेनन् ।

कारवाही प्रक्रिया अगाडि बढाएका छौंः अर्जुन कुमार

चलचित्र विकास बोर्डका सदस्य एवं हल अनुगमन समितीका संयोजक समेत रहेका अर्जुन कुमारले नियम कानुन तोडेर हल चलाउने संचालकमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने–‘सबै कुरा म भन्न सक्दिनँ । तर, हामीले नियम कानुन तोड्ने हलमाथि कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं । राजश्व कार्यलयमा समेत फाइल पुगिसकेको छ ।’

उदेकलाग्दो कुरा के छ भने, विदेशी फिल्मका लागि रातको १ बजे नियम विपरित शो दिएको एफक्यूबले दर्शकको उच्च चाप हुँदा पनि नेपाली फिल्म ‘ए मेरो हजुर ४’लाई जम्मा ३ शो दिएको थियो ।