बोर्ड अध्यक्षज्यू, निर्मातालाई अवार्ड होइन न्याय दिनुहोस्

चलचित्र विकास बोर्डले आइतबार वि.सं २०७६ सालमा रिलिज भएका फिल्महरुलाई समावेश गर्दै ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गर्दैछ । विकास बोर्डले फिल्मीकर्मी र फिल्मलाई अवार्ड दिने तयारी गर्दै गर्दा फिल्म हेर्न दर्शक आएर पनि शो नपाएर निर्माता पुरपुरोमा हात राखेर बस्न वाध्य छन् ।

बिहिबारदेखि रिलिज भएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले दर्शकको उल्लेख्य साथ पाएको छ । भोली शनिबारको दिन यो फिल्मले ‘केजीएफ २’लाई प्रदर्शकले गरेको माया जस्तै माया पाउने हो भने सबै शोजमा हाउसफूलको व्यापार गर्ने निश्चित छ ।

तर, बिडम्बना हलमा दर्शक आउँदा पनि प्रदर्शकहरुले नेपाली फिल्मको शो कटाएर साउथको हिन्दी डबलाई टक्राएका छन् ।

विर्तामोडको क्यूएफक्समा बिहिबार र शुक्रबार दुबै शोजमा हाउसफूलको व्यापार भयो । भोली, शनिबारका लागि क्यूएफएक्स विर्तामोडले दिएको पौने ११ बजेको शो आजै हाउसफूल हुने क्रममा छ । तर, दुखको कुरा बिहिबार र शुक्रबार पाएको २ शो पनि घटाएर १ शोमा झारिएको छ । आखिर, दर्शक आइरहेको समयमा शो बढाउनु पर्ने होइन र ?

हिन्दी फिल्मका लागि मध्यरात १ बजेको शो दिन समेत नियम कानुन तोडेर उत्तेजित हुने प्रदर्शकहरु नेपाली फिल्मलाई यति साह्रो अन्याय गर्दैछन् ?

मेरो फिल्मसँग टेलिफोनमा कुराकानी गर्दै निर्माता सुनिल कुमार थापाले आफू निराश भएको बताए । नेपाली फिल्म क्षेत्रमा २५ बर्षदेखि सक्रिय यी निर्माता प्रदर्शकहरुको व्यवहारले अब फिल्म बनाउने कि नबनाउने भन्ने सोचमा आफू पुगेको बताउँछन् । उनले निराश स्वरमा भने–‘आज म दिनभर शो बढाउनका लागि लागे । कतिपय ठाउँमा त झगडा नै गरे । तर, सकिनँ । खै, नेपाली फिल्मलाई प्रदर्शकले यती साह्रो किन पेलेका हुन् कुन्नी ? यस्तो अवस्थाले फिल्म कसरी बनाउने ?’

हुनत, हिन्दी फिल्म रातभर चल्दा उल्टै नेपाली फिल्मका निर्मातालाई पाठ सिकाउन केही मिडिया हाउस उद्देलित छन् । उनीहरुलाई नेपाली निर्माताले फिल्म चल्दा चल्दै पनि शो नपाएर टाउको समाउनु परेकोमा कुनै दुःख छैन, बरु रातभर साउथको हिन्दी डब फिल्म चलेकोमा खुशी छ ।

खैर, चलचित्र विकास बोर्डका अध्यक्ष फिल्मकर्मीलाई अवार्ड वितरण गर्नका लागि लागिपरेका छन् । राज्यले कामको सम्मान गर्दै अवार्ड वितरण गर्नु सुखद कुरा हो । तर, फिल्म बनाएर चलाउने ठाउँ नपाएर छटपटिएका निर्माताले अवार्ड थाप्दै गर्दा अनुहारमा खुशी ल्याउन सक्लान् त ? बोर्ड अध्यक्ष ज्यू, दर्शक आइरहेका नेपाली फिल्ममाथि यति साह्रो तल्लो स्तरको व्यवहार किन भैरहेको छ ? प्रदर्शकले नेपाली फिल्ममाथि यति ठूलो अन्याय किन गरिरहेका छन् ? यो बिषयमा सोचिदिनुहोस् । होइन, भने भोलीका दिनमा विकास बोर्डले अवार्ड वितरणका लागि नेपाली होइन बलिउड र साउथकै फिल्म खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न ?