कानमा तेल हाल्ने निर्माता संघ, स्टाटसमै काम चलाउने चलचित्र संघ

चुनावको समयमा निर्माताको हक हितका लागि काम गर्छौ भन्दै कुर्लने निर्माता संघका केही पदाधिकारीहरु निर्वाचनपछि कता हराउँछन् पत्तो हुँदैन । अझ, चलचित्र संघसँगको वार्तामा चुइकक बोल्न नसक्ने निर्माता संघका पदाधिकारीको काम त उदेकलाग्दो नै छ ।

नेपाली फिल्मले बारम्बार प्रदर्शकहरुबाट हेपाँई खेपिरहेको अवस्थामा निर्माता संघका पदाधिकारीले एक शब्द बोल्न सकेका छैनन् । पदमा बसिरहने, कार्यक्रम अतिथी भनेर लामो भाषण त गर्ने तर निर्मातालाई पीडा पर्दा चुइक्क नबोल्ने निर्माता संघका पदाधिकारीहरुको शैली आम निर्माताका लागि अर्थ न बर्थको देखिएको छ ।

बिहिबारदेखि रिलिज भएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’का निर्माताले फिल्म हाउसफूल हुँदा पनि प्रदर्शकले शो घटाएको पीडा भोगिरहेका छन् । प्रदर्शकले दिउँसै यति ठूलो गलत काम गर्दा पनि निर्माता संघले एक शब्द बोल्न सकेको छैन । हरेक समय, निर्माता संघले आफ्नो सदस्यले उजुरी गर्लान् र वक्तव्य निकालौला नै भनेर बस्ने हो त ?

निर्माता संघ त हुनु र नहुनुको अर्थ छैन । चलचित्र संघका पदाधिकारीहरुले पनि आफ्नो संस्थाका सदस्यहरुले यति ठूलो गल्ती गर्दा पनि कारवाही प्रक्रिया अगाडि बढाउन सकेका छैनन् । महासचिव अशोक शर्माले सामाजिक संजालबाट भत्र्सना त गरे, तर आफ्नो संस्थाको सदस्यसँग स्पष्टिकरण सोध्ने हिम्मत गर्न सकेका छैनन् ।

अब, यही समयमा नियम विपरित मध्यरातमा हलमा फिल्म देखाउने काम पनि केही हलले गरेका छन् । यतिमात्र होइन, तोकिएको टिकट दर भन्दा महंगो टिकटमा मध्यरातमा विना सुरक्षा टिकट वेचेर फिल्म प्रदर्शन गर्ने चेष्टा एफक्यूब हलले गरेको छ । यस बिषयमा चलचित्र विकास बोर्डले चाल्ने कदम सबैका लागि चासो बनेको छ ।

यो समयमा पनि विकास बोर्डले कुनै कदम चाल्न सकेन भने, विकास बोर्डमा पुगेर नेपाली फिल्मको हितमा काम गर्छु भन्ने जो सुकै चलचित्रकर्मीबाट कुनै कुराको अपेक्षा नगर्दा हुन्छ । आज सुनिल कुमार थापा र झरना थापाले यो समस्या भोगिरहँदा भोलीका दिनमा अन्य निर्माताले यस्तो अवस्था भोग्ने त निश्चित नै छ । अब पनि निर्माताहरु बोलेनन् भने नेपाली फिल्म क्षेत्रले दोश्रो दर्जाको फिल्मको रुपमा हलमा सधै नै स्थान पाउनेछ ।