मलाई ट्याग चाहिदैन, दर्शकले माया गरिदिए पुग्छः अनमोल केसी

फिल्म ‘ए मेरो हजुर ४’ले इनिसियल व्यापार सुखद गरेपछि हौसिएका नायक अनमोल केसी बिहिबार, शुक्रबार र शनिबार विभिन्न हलमा पुगे । हलमा पुगेर दर्शकको प्रतिक्रिया वुझेका अनमोल अब भने नयाँ फिल्मको तयारीमा लागेका छन् । यसका लागि उनले अब केही हप्ता वर्कशप गर्नेछन् । यसपछि, दिवाकर भट्टराइको निर्देशनमा बन्ने फिल्म ‘हनी बनी’को छायांकनका लागि उनी नायिका सारा सिर्पालीसँग लण्डन जानेछन् ।

अनमोललाई नेपाली फिल्म क्षेत्रमा ‘मेगास्टार’ भन्ने गरिन्छ । यो ट्यागमा खासै विवाद छैन । तर, अनमोल आफूले आफूलाई स्टार नमान्ने बताउँछन् । अनमोलले भने–‘मलाई ट्यागको इज्जत जोगाउनु भन्दा पनि दर्शकले कस्तो साथ दिनुहुन्छ भन्ने लागेको थियो । दर्शकले माया र साथ दिनुभएको छ । मलाई ट्याग केही पनि चाहिदैन । दर्शकले अनमोल केसी मात्र भनेर चिनिदिए पुग्छ । तर, दर्शकको माया भने कहिले पनि कम नहोस् भनेर कामना गर्छु ।’

नेपाली फिल्म क्षेत्रका कलाकारहरु एउटा न एउटा ट्याग लिनका लागि लागिपरेको अवस्थामा अनमोलले भने आफूलाई ट्याग नचाहिने बताउँदै आएका छन् ।