पल शाह प्रकरणः नाबालिकका बाबुले पनि फेरे बयान

तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडित नाबालिकाका बुबाले पनि बयान फेरेका छन् । आफूले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन् । २ दिन अगाडि पीडित नाबालिकले पनि बयान फेरेकी थिइन् । उनले, आफूलाई पलले बलात्कार नगरेको बताएकी थिइन् ।

यस्तै, पीडितका बुबाले पनि आफूले सुनेको भरमा जाहेरी दिएको तर नदेखेको तर्क गरेका छन् । पीडितका बुबा अगाडि गायक दुर्गेश थापालाई पनि बकपत्र गराइएको थियो । पीडित नाबालिकका बुबाले जिल्ला प्रहरी कार्यलय तनहुँमा जाहेरी दिने क्रममा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै छोरीलाई जबरजस्ती करणी गरेको उल्लेख गरेका थिए ।

पल शाहको मुद्दामा नाबालिक र उनका पिताले नै बयान फेरेपछि अब के हुन्छ भन्ने प्रश्न पनि उठेको छ । कतिपयले जाहेरी दिने पीडितकी पिताले नै बयान फेरेपछि मुद्दा कमजोर बनेको तर्क गरिरहेका छन् । कतिपयले भने बयान फेर्दैमा मुद्दा कमजोर नहुने तर्क पनि गरेका छन् ।

नायक पल शाह विगत डेढ महिनादेखि थुनामा छन् । एक नाबालिकले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएपछि नायक पल शाहले फागुण १५ गते प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए ।