हलका म्यानेजरलाई बोर्डमा बोलाएर अध्यक्षले कडा भाषामा के भने ?

काठमाडौंका सबै हलका म्यानेजरहरुलाई विकास बोर्डमा बोलाएर चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आक्रोश व्यक्त गरेका छन् । विशेषगरि, नेपाली फिल्मलाई कम प्राथमिकता दिएको, रात्रीकालिन समयमा हल अनुमती विना संचालन गरेको बिषयमा अध्यक्षले म्यानेजरहरुलाई कडा भाषामा संझाएको वुझिएको छ ।

सरकारले तोेकेको भन्दा अन्य समयमा हल संचालन गर्नुपर्ने भएको अवस्थामा प्रदेश सरकारको अनुमती लिनुपर्ने नियम छ । निर्माता, निर्देशक र प्रदर्शक बसेर प्रदेश सरकारसँग समन्वय गरेर मात्र हल खोल्नुपर्ने नियम भएपनि साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ रिलिज गर्दा केही हलमा रातको १ बजे बिना अनुमती शो खोलिएको थियो ।

यस्तै, यही फिल्मसँग रिलिज भएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’लाई प्रदर्शकहरु कम शो दिएका थिए । फिल्म राम्रो चलिरहेको अवस्थामा पनि नेपाली फिल्मलाई वेवास्था गरिएपछि विकास बोर्ड अध्यक्ष दाहाल आक्रोशित बनेका हुन् । उनले, नेपाली फिल्मलाई प्राथमिकतामा राखेर शोज बाँडफाड गर्न पनि कडा भाषामा आग्रह गरेको वुझिएको छ ।

विकास बोर्ड श्रोतका अनुसार, सरकारले तोेकेको नियमलाई उल्लंघन गर्दै हल खोलेपछि विकास बोर्ड अध्यक्ष आक्रोशित भएका छन् ।

नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले राम्रो व्यापार गरिरहँदा पनि केही प्रदर्शकहरुले शो कटाएर विदेशी शोलाई दिएका थिए । यसपछि, प्रदर्शकहरुको चर्को आलोचना भैरहेको छ ।