जब अन्तरवार्ता दिदा दिदै ‘करुणा’ शब्द आएपछि उठेर हिडे आकाश

नेपाली सांगीतिक बजारमा नायक आकाश श्रेष्ठ र मोडल तथा नायिका करुणा श्रेष्ठको मित्रताको चर्चा खुबै हुन थालेको छ । आकाश र करुणा प्रेममै रहेको गाइगुई पनि नचलेका होइनन् । तर, आकाशले यो बिषयमा स्पष्ट रुपमा केही पनि बताएका छैनन् ।

आज आयोजना भएको नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको गीत रिलिज कार्यक्रममा ‘करुणा’ शब्दले आकाशलाई तनाव दियो । एक पत्रकारले अन्तरवार्ताका क्रममा ‘दया, माया र करुणा’ नराखी जवाफ दिनुहोला भनेपछि आकाश जुरुक्कै उठेर हिडे । यो अन्तरवार्ता बन्द गरौं भन्दै आकाश उठेपछि पूजा पनि अक्क न बक्क बनिन् । पछि, पत्रकारले आकाशलाई फकाएर फेरि अन्तरवार्तामा राखे र टुंग्याए ।

यसपछि, आकाश र पूजाको अन्तरवार्ता पर्खिरहेका अन्य पत्रकारहरुले अन्तरवार्ता नै गर्न पाएनन् । आकाशले अन्तरवार्ता नदिई हिडेपछि पूजाले एक्लै अन्तरवार्ता दिने कुरै भएन ।

नायक आकाश श्रेष्ठ मिडियासँग खुलेरै बोल्दैनन् । तर, हिजोआज उनी मिडियासँग रुखो तरिकाले प्रस्तुत हुन थालेको महशुश मिडियाकर्मीहरुले गर्न थालेका छन् । पत्रकारको प्रश्नलाई सहज तरिकाले मिलाउनुको सट्टा अन्तरवार्ता नै छाडेर हिड्ने आकाशको बानीले आगामी दिनमा उनीमाथि लगानी गर्ने निर्मातालाई हैरानी त बनाउने होइन ?