पल प्रकरण: बालिकाले पूर्वी नवलपरासीको अदालतमा पनि फेरिन् बयान

अभिनेता पल (पूर्णविक्रम) शाहले आफूलाई जबरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता गराइकी नाबालिग गायिकाले जिल्ला अदालत पूर्वी नवलपरासीमा पनि बयान फेरेकी छिन् ।

अशाहविरुद्ध परेको जबर्जस्ती करण मुद्दामा पीडित नावालिकाले बुधबार वकपत्र गरिएकोमा उनले तनहुँमा झैं बयान फेरेको वकपत्र लिंदा बसेका एक जना सहभागीले बताए । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशमा वकपत्र गरिएको थियो ।

उनले आज बकपत्र दिँदै अभिनेता शाहले आफूलाई बलात्कार नगरेको बरु अरुको उक्साहटमा आफूले उनीविरुद्ध अभियोग लगाएको बयान दिएको अदालत स्रोतले जनाएको छ । त्यसअघि उनले १ वैशाखमा जिल्ला अदालत तनहुँमा भएको बकपत्रमा बयान फेरेकी थिइन् ।

तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको उनले बकपत्र गरेकी हुन् । अदालतका कर्मचारीका अनुसार सरकारी वकिलहरुले २०-२२ वटा प्रश्न सोधेर जिरह गरेका थिए । त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिएकी हुन् । बलात्कार भएको भनी आफूले आवेशमा आएर तनहूँमा त्यसघि बयान दिएको उनको भनाइ थियो ।

नवलपुरमा बुधबार अरुको वकपत्र नसकिएकोले अन्यको वकपत्र बिहीबारमात्र गरिने छ । वकपत्रमा नावालिग गायिकाले वयान फेरे पनि तत्काल पल छुटिहाल्ने सम्भावना कम रहेको कानुनविद् बनाउँछन् ।

सुटिङक्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेमको झुठो बहानामा आफूलाई पटकपटक करणी गरेको पीडित पक्षले फागुन ११ मा तनहुँमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता पल शाहले फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

तनहुँ र नवलपुर दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी हाल जिल्ला कारागार तनहुँमा छन् । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बहसपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम तत्काल पुर्पक्षका लाथि थुनामा पठाउने ओदश गरेका थिए ।

सो आदेश बेरितपूर्ण भएको जिकिर गर्दै प्रतिवादीले आफ्नो क्षेत्राधिकार रहेको उच्च अदालत पोखरामा आफूलाई साधारण तारेखमा राखी पाउँ भनी गत १५ चैतमा निवेदन दिएका थिए । जसको फैसला हुन बाँकी छ । थुनामा राख्न गरिएको सुरु जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको र पललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने प्रतिवादीको जिकिर छ । गत चैत १० मै पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखमा छाडिएको थियो ।