‘ए मेरो हजुर ४’मा सुहानाको अभिनयको ओझेलमा परेनन् अनमोल

फिल्म ‘ए मेरो हजुर ३’मा काम गर्दा नायिका सुहाना थापा नयाँ थिइन् । उनीसँग निर्देशक झरना थापाकी छोरी हुनु भन्दा अन्य परिचय थिएन । तर, नायक अनमोल केसी सुपरस्टार थिए । यही फिल्ममा उनलाई ‘मेगास्टार’को ट्याग दिइयो ।
यो फिल्म अनमोलकै कारण चल्छ भन्नेहरु धेरै थिए । फिल्मले बम्पर कमाई गर्यो ।

दर्शक फिल्ममा अनमोललाई नै हेर्न ओइरिए । तर, हलबाट निस्कदा सुहानालाई संझदै निस्किए । अझ यसो भनौं, अनमोललाई सुहानाले ओझेलमा पारिदिइन् । फिल्म हेर्ने दर्शक, फिल्मीकर्मी र मिडियाकर्मीले सुहानाको मात्र अभिनयको तारिफ गरे । अनमोल पुरै ओझेलमा परे ।

तर, ‘ए मेरो हजुर ४’मा त्यस्तो भएन । यो फिल्मको प्रिमियर लगतै नायक अनमोल केसीको प्रशंसा हुन थाल्यो । अनमोलले आफ्नो अभिनयमा निखारता ल्याएको भन्दै प्रशंसा भयो । एकातिर साउथको फिल्मलाई टक्कर दिएको अर्कोतिर अभिनय पनि उत्कृष्ट गरेको भन्दै अनमोलको तारिफ भयो ।

यसपटक, अनमोल चम्कदा फिल्मलाई खुबै फाइदा भयो । फिल्म बिहिबारबाट दोश्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो सातामा ४ करोडको ग्रस कलेक्शन गरिसकेको छ । फिल्मबाट निर्माता सुरक्षित हुने बाटोमा छन् ।