आजबाट मण्डला थिएटरमा नियमित मञ्चन हुँदै ‘पल्पसा क्याफे’

कोभिड महामारीको कारण अगिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा अपराह्न साढे ४ बजेबाट मञ्चन सुरु हुनेछ ।  उक्त नाटक वैशाखभर प्रदर्शन मण्डलामा नाटक मञ्चन हुने छ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि रहेको निर्देशक विमल सुवेदीले जानकारी दिए । सोमबार भने नाटक मञ्चन हुने छैन ।

सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सहनिर्देशनमा हुन लागेको उक्त नाटकमा दृश्यको भूमिका निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन् । अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् ।

‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो । यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनुदित छ । १० वर्ष लामो सशस्त्र युद्धको वरपर रहेर एक पेन्टरको कथा बोल्ने उपन्यासले तत्कालीन परिवर्तनशील समाजको कथालाई सजिलो भाषामा बोलेर प्रसिद्धी कमाएको थियो। सशस्त्र युद्धमा सामेल भएको आफ्नो साथी सिद्धार्थले युद्ध हेर्न भनेर लगेपछि चित्रकार रहेको दृश्यले नजिकैबाट देखेको युद्धको वरपर उपन्यासको कथा घुमेको छ ।

उपन्यासका धेरै पात्रहरू स्पष्ट रुपमा लाखौँ मानिसको मनमा बसेकाले तीनको कथालाई नाटकमा लिएर जानु आफैँमा चुनौतीपूर्ण रहेको नाट्य रुपान्तरक सुरज सुवेदीले बताएका छन् । निर्देशक विमल सुवेदीले भने १५ वर्षपछि उपन्यासतिर फर्किँदै त्यसले उ बेला उठाएका विषयहरूलाई वर्तमान समयमा उभिएर विवेचना गर्न लागिएको जानकारी दिए ।

भर्खरै ‘चिसो एष्ट्रे’फिल्मको प्रदर्शन सकाएकी सृष्टिले यसभन्दा पहिला पनि थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी छन् भने ‘सान्दाजुको महाभारत’ ‘यार्मा’ ‘ह्याम्लेट’ ‘मालिनी’ जस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका विमल सुवेदी लगभग १ दशकपछि पुनः अभिनयमा फर्किँदै छन् । भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा डिजाइन र डिरेक्सन अध्ययन गर्नुभन्दा पहिला विमल अभिनय र मोडलिङमा सक्रिय थिए ।

नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना, लगायतका कलाकारहरूको अभिनय रहनेछ ।