विजयको ‘बीष्ट’ आज मात्रै सेन्सर पास, किन भयो रिलिजमा ढिलाई ?

तमिल भाषाको एक्सन फिल्म ‘बीष्ट’ आजबाट नेपालमा पनि रिलिज भएको छ । भारतमा रिलिज भएको एक सातापछि यो फिल्मलाई नेपाल भित्राइएको हो ।नेल्सनले लेखन तथा निर्देशन गरेको यो फिल्ममा तमिलका सुपरस्टार थलापति विजय र पूजा हेग्डेको मुख्य भूमिका छ ।

यो फिल्मलाई हिन्दी भाषामा ‘र’ नाममा रिलिज गरिएको छ । हिन्दी भाषामा पानी पनि भन्न नपाएको यो फिल्मले तमिल भाषमा भने पहिलो सातामा सुपरहिटको व्यापार गरेको थियो ।

फिल्मलाई नेपाल ल्याउन वितरक सुमन खत्री र उनको टिमलाई गाह्रो भयो । ‘केजीएफ २’का वितरकले एउटा फिल्म चल्दा चल्दै अर्को किन ल्याउने भनेर अवरोध पनि खडा गर्न खोजेका थिए । तर, फिल्म सेन्सर पास गरेर रिलिज गर्न आफूहरु सफल भएको सुमनले बताए ।

२ दिन अगाडि नै फिल्मको सेन्सरको तयारी गरिएको थियो । तर, फिल्म सेन्सर हुन नपाएपछि आज शुक्रबार अधिकांश हलमा यो फिल्म रिलिज हुन सकेन । आज एफक्यूब हलले मात्र फिल्मलाई एक शो दिएको छ । अन्य हलमा भोलीबाट फिल्म रिलिज हुने वितरकको कथन छ ।

चलचित्र विकास बोर्डले कुनै पनि डब फिल्मलाई नेपाल भित्राउन नदिने निर्णयका लागि संचार मन्त्रालयलाई पत्रचार गरिसकेको छ । तर, नेपालमा साउथ फिल्मको हिन्दी डब ल्याएर व्यापार गर्न वितरकहरु लागिपरेका छन् ।