हामीलाई दर्शकले बनाउनुभएको हो, यसैले हाम्रो समीक्षक पनि उहाँहरु नै होः अनमोल केसी

फिल्म ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा धमकेदार व्यापार गरिरहेको छ । यो फिल्मले रिलिजको दशौं दिन शनिबार पनि हलमा उत्साहजनक रुपमा दर्शक तान्न सफल भयो । फिल्म व्यापारिक रुपमा सफल भएपनि यसलाई समीक्षकले भने आलोचना गरे ।

समीक्षकले कमजोर प्रतिक्रिया दिइरहँदा नायक अनमोल केसी भने यसले आफूलाई खासै फरक नपर्ने बताउँछन् । अनमोलले भने–‘मुख्य कुरा त हामी कलाकारका लागि दर्शकको माया चाहिन्छ । हामीलाई दर्शकले निक्कै माया दिनुभएको छ । हाम्रा लागि सबैभन्दा ठूलो समीक्षक नै दर्शक हनुहुन्छ ।’

नायक केसीले आफूहरुलाई समीक्षकले नभएर दर्शकले बनाएको समेत बताए । यस्तै, फिल्म रिलिजको समयमा प्रदर्शकबाट गरिएको अतिक्रमणले आफूलाई खल्लो लागेको पनि अनमोल बताउँछन् । उनले भने–‘यस्ता कुराले पक्कै पनि खल्लो त लागिहाल्छ । नेपाल सरकारले फिल्म क्षेत्रको बिषयमा सोचिदिने हो भने पक्कै पनि राम्रो हुन्थ्यो होला । तर, दर्शकले माया दिनुभएको छ यसमै खुशी छु ।’

आठौ फिल्मसम्म आइपुग्दा पनि अनमोलले करिअरमा असफलता भोग्नु परेको छैन । फिल्मले बम्पर व्यापार गरिरहँदा अनमोलको क्रेज झनै बढेको पाइन्छ । यसैले, अनमोल आफूलाई दर्शकले नै बनाएको भन्न पछि पर्दैनन् ।