के नेपाली फिल्मका लागि सुखद सन्देश दिन सफल होलान् दयाराम दाहाल ?

चलचित्र विकास बोर्डमा हरेक २ बर्षमा अध्यक्ष फेरिए पनि, नेपाली फिल्मको मुहार भने फेरिएन । सूचना तथा संचार मन्त्रालयको नियन्त्रणमा रहेर काम गर्नुपर्ने भएकाले पनि चलचित्र विकास बोर्डले सामान्य काम बाहेक नीतिमा काम गर्न सकेको छैन ।

चलचित्र विकास बोर्डमा फिल्मीकर्मीहरुकै नेतृत्व रहेपनि उनीहरुले सुखद सन्देश नेपाली फिल्म क्षेत्रका लागि दिन सकेनन् । कोरोना महामारीको समयमा विकास बोर्डको अध्यक्ष पदमा आइपुगेका निर्देशक तथा निर्माता दयाराम दाहाल फिल्म क्षेत्रका लािग सुखद सन्देश दिने दौडमा छन् ।

विशेषगरि, विदेशी फिल्मले नेपालमा सहजै रिलिजको वातावरण पाउने र प्रदर्शकले पनि विदेशी फिल्मलाई पाखा र नेपाली फिल्मलाई काखा गर्ने अवस्थाका कारण नेपाली फिल्म मेकर चपेटामा परेका छन् । ‘केजीएफ २ र ए मेरो हजुर ४’को समयमा प्रदर्शकको रवैया अझै देखियो । २० हजार कर तिरेपछि विदेशी फिल्म नेपाल भित्राउन पाउने नीतिका कारण पनि वितरकलाई हाईसञ्चो भएको छ ।

तर, चलचित्र विकास बोर्डले डब फिल्म नेपाल भित्राउन नपाउने, विदेशी फिल्मका लागि केही कडा नीति ल्याउनुपर्ने लगायतका निर्णय गर्दै संचार मन्त्रालयमा पत्र पठाइसकेको छ । संचारमन्त्रालयले पनि यसपटकको बजेटमा नै नेपाली फिल्मलाई केही सहज हुने गरी नीति ल्याउने तयारीमा लागेको छ ।

कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेको समयमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मीकर्मीले सधै संझन सक्ने काम गर्न आवश्यक छ । यसका लागि नेपाली फिल्मका लागि केही सहज वातावरण बनाउन उनले सके मात्र भने, त्यसले फिल्म क्षेत्रमा उनलाई फिल्मीकर्मीले सधै संझनेछन् ।

नेपाली फिल्मका लागि सधै नै केही गर्दैछु भनेर भाषण मात्र गर्ने बोर्ड अध्यक्षले यसपटक केही नयाँ कदम चाल्लान् त ? फिल्मीकर्मी त प्रतिक्षा गरिरहेका छन् ।