विदेशी फिल्मलाई अंकुश लगाउने सरकारको तयारी

सरकारले विदेशी फिल्मको अतिक्रमणलाई रोक्न नयाँ बजेटमा नै नयाँ प्रावधान थप्ने तयारी गरिरहेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले मन्त्रालयलाई यो विषयमा चौतफी गुनासो आएकाले सरकारले स्वदेशी फिल्म उद्योगलाई राहत पुग्ने गरी नयाँ नीति तर्जुमा गर्ने तयारी गरिरहेको जनाएका छन् । यसका लागि उनले करको दर हेरफेर गर्नेदेखि लिएर डब फिल्मलाई रोक्ने विषयसम्ममा छलफल भएको बताए ।

चलचित्र विकास बोर्डले केही दिनअघि मात्र डबिङ फिल्मलाई रोक्ने नीति अख्तियार गर्न सञ्चार मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले यो विषयमा पनि छलफल भइरहेको र चाँडै निर्णयमा पुग्ने जनाएको छ ।
प्रदर्शकले सिनेमा घरमा विदेशी फिल्मभन्दा स्वदेशी फिल्मलाई प्राथमिकता दिनुपर्ने पनि विकास बोर्डले आवाज उठाउँदै आएको छ ।

प्रदर्शक र वितरकले छलफलमा ‘हुन्छ गर्छौँ’ भने पनि व्यवहारमा नेपाली फिल्मलाई कम प्राथमिकता दिँदै आएका छन् । ‘केजीएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ एकै दिन प्रदर्शनमा आउँदा प्रदर्शकले नेपाली फिल्मलाई न्यून सो दिएर सर्वत्र ‘केजीएफ २’लाई सो दिएका थिए । यसले विदेशी फिल्म नियन्त्रणको बहसलाई सतहमा ल्याएको थियो ।