३५ लाख पारिश्रमिक लिने महंगा दीपेन्द्र

नेपालमा निक्कै कम निर्देशकको नामबाट मात्र फिल्म चल्छ । निश्चल बस्नेत, दीपेन्द्र के खनाल, सुदर्शन थापा, रामबाबु गुरुङ पछिल्लो समयका चर्चित निर्देशक हुन् । जसले निर्देशन गरेका फिल्ममाथि दर्शकको विश्वास पनि उच्च हुन्छ ।
यसैले, यी निर्देशकसँग फिल्म बनाउन चाहने निर्माताले पैसा पनि राम्रै खर्च गर्नुपर्ने हुन्छ ।

‘पशुपति प्रसाद, आमा’ जस्ता फिल्म निर्देशन गरेका निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘के घर के डेरा’ निर्देशन गर्दैछन् । यो फिल्मका लागि दीपेन्द्रले ३५ लाख पारिश्रमिक लिएका छन् । दीपेन्द्रले पनि महामारीका कारण केही बर्ष काम नगरेको भन्दै पारिश्रमिक बढाएको बताएका छन् ।

नेपाली फिल्म क्षेत्रमा ‘द यूगदेखि यूगसम्म’बाट निर्देशनमा डेब्यू गरेका दीपेन्द्रले दर्शकले संझनलायक फिल्म दिएका छन् । यसैले, पनि उनलाई निर्माताले पत्याउने गरेका छन् । दीपेन्द्रले ३५ लाख लिएर निर्देशन गरेको फिल्मको छायांकन यो महिनाको अन्तिमबाट हुनेछ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।