‘मन्त्र’ एउटा अर्गानिक फिल्म बनेकोमा सौगात ढुक्क

आफूले अभिनय गर्ने फिल्म भित्र आफ्नो चरित्रका लागि निकै मेहनत गर्ने कलाकारमा पर्छन सौगात मल्ल । अभिनयका माध्यमबाट आफुले निभाएको जुन सुकै पात्रलाई न्याय दिन सक्नु नै उनको खुबी हो । उनै सौगात अभिनित फिल्म ‘मन्त्र’ यही बैशाख १६ गतेबाट प्रदर्शन हुँदैछ ।

‘मन्त्र’ एउटा अर्गानिक फिल्म बनेको कुरामा सौगात ढुक्क देखिए । पोष्ट प्रोडक्सनको क्रममा आफुले २ पटक फिल्म हेरिसकेको उनले जनाएका छन् । उनी आफुले फिल्म उत्कृष्ट बनेको पाएकोले नै दर्शकलाई पनि सोही कन्फिडेण्टका साथ फिल्म ‘मन्त्र’ हेर्न आग्रह गरेको बताउँछन् ।

हिमाली भेगको कथा फिल्मले भनेको छ । फिल्मलाई हिमाली प्रेमकथा पनि भनिएको छ । सौगात गोठालोको भूमिकामा छन् । त्यसो त सौगातका लागि मन पर्ने मौसम पनि चिसो हो । यसअर्थ मनास्लु हिमाल आसपास छायाँकन गर्दा उनलाई मौसमका कारण खासै कठिनाई भएन । यसअघि सौगातले फिल्म कागबेनीमा पनि हिमाली भेगमै छायाँकन सकाएका थिए । उनी सोही अनुरुपको पात्रमा देखिएका छन् । यसअर्थ ‘मन्त्र’का लागि आफ्नो भूमिका विकसित गर्न उनलाई थप सहयोग भयो ।

‘मन्त्र’लाई आफुले अहिले गरिरहेका भन्दा भिन्न कथाको फिल्म भनेका छन् सौगातले । यसमा हिमाली स्वाद पनि पाइने उनको जिकिर रहेको छ । उनी फिल्मले कसैलाई पनि निराश नबनाउने बताउँछन् । सौगातले छायाँकनको केही दिन अघि नै मनास्लु आसपास पुगेर त्यहाँको रहनसहन पनि अब्जर्व गरेका थिए । स्थानियहरुसँग् संगत गरेर सिकेका कुराले आफुलाई सोही अनुरुप प्रस्तुत गर्न सहज भएको उनको बुझाई छ ।

आफुले गरेको पछिल्लो समयका सबै फिल्म भन्दा ‘मन्त्र’ ले आफ्नो मन छोएको उनले बताए। नेपालमा कोरोना भाइरसको प्रभाव सुरु हुनु अगावै निर्माण गरिएको फिल्म हो ‘मन्त्र’ । वातावरणीय हिसाबमा निकै चिसो स्थानमा खिचिएको फिल्ममा अभिनय गर्न निकै कठिन भएको मल्ल बताउछन्। अझ सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनको अनुभव छ। विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि फिल्म प्राथमिकताका साथ प्रस्तुत गरेको छ । जुन विषय आम नेपाली दर्शकका लागि निकै रोचक हुने र नेपाली संस्कृति र परम्परासँग पनि जोडिने उनको दाबी छ ।

खिलबहादुर गुरुङ निर्देशित फिल्ममा सौगातका अलवा दिया पुन, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको फिल्ममा परिच्छेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन छ ।