के अनमोलले ‘हनी बनी’ छाडेका हुन् ?

नायक अनमोल केसीले अभिनय गर्ने फिल्मको छायांकन सुरु नभएसम्म त्यो फिल्ममा उनी हुन्छन् या हुँदैनन् भन्ने पक्का गर्न गाह्रो हुन थालेको छ । अनमोललाई पहिलो कुरा त फिल्म साइन गराउन मुश्किल छ । फिल्म साइन गरिसकेपछि पनि उनले त्यो फिल्ममा काम गर्छन् या गर्दैनन् भन्ने पक्का हुँदैन ।

नायक अनमोल केसीले फिल्म साइन गरिसकेर पनि ‘ब्याचलर बन्टी, धुपौरे’ लगायतका फिल्म छाडे । उनले नै अभिनय गर्ने भनिएको फिल्म ‘एक्स ९’ बन्ने वा नबन्ने टुंगो छैन ।अनमोलले दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको फिल्म ‘हनी बनी’ साइन गरेका थिए ।

सेड्यूल अनुसार चलेको भए यो फिल्मको छायांकनका लागि बिहिबार यसको टिम बेलायत उडिसक्नुपर्ने थियो । तर, फिल्मको छायांकन सुरु हुन सकेको छैन । यसैविच, नायक अनमोल केसीले शनिबार इन्स्टाग्राममा पोष्ट गरेको एउटा तस्वीरले यो फिल्ममा उनी रहने वा नरहने दुविधा पैदा गरेको छ ।

अनमोलले यसअघि काम गरेका ८ वटा फिल्मको तस्वीर राखेका छन् । उनको पछिल्लो रिलिज ‘ए मेरो हजुर ४’पछि उनले ‘अब के त’ भनेर लेखेका छन् । अनमोलले ‘हनी बनी’मा काम गर्ने पक्का भैसकेको अवस्थामा किन ‘अब के त’ भनेर लेखे भन्ने प्रश्न उठेको छ । यसको अर्थ, उनले कतै यो फिल्म पनि छाडिसकेका त हैनन् भन्ने प्रश्न उठाउन सकिन्छ । यो बिषयमा अनमोल र फिल्मको टिमले केही पनि बताएको छैन । तर, फिल्म बनेपनि अनमोलले भने छाड्ने सक्ने वुझिएको छ ।