भुवन केसी, श्वेता, रविन्द्र खड्का नेपाली कांग्रेस प्रवेश

अभिनेता भुवन केसी नायिका श्वेता खड्का, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

आज देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको बताइएको छ ।

अभिनेता भुवन केसी यसअघि काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा चलेको थियो । उनलाई स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीले मेयरमा उठाउने घोषणा गरेको थियो । तर पछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले उम्मेदवारी नदिने घोषणा गरेका थिए । यसअघि उनी नेकपा एमालेमा आबद्ध थिए ।

पछिल्लो समय व्यवसायमा सक्रिय अभिनेत्री श्वेता खड्काले गरेको अन्तिम फिल्म ‘कान्छी’ हो । त्यसपछि उनले कुनै फिल्म गरेकी छैनन् ।

खड्का भने पूरानै कलाकार हुन् । अहिले उनी कलाकार संघमा आबद्ध छन् । खड्काले भने यसअघि पनौती नगरपालिकाको मेयर बन्न चाहेको बताएका थिए ।

यो प्रस्ताव उनले सभापतिसमेत रहेका देउवासमक्ष राखेका थिए । “पनौती नगरको मेयर बन्न चाहन्थेँ,” उनले भने, “यो प्रस्ताव पनि राखेको हुँ । तर सभापतिले अहिले ढिला भइसक्यो । प्रदेश र संघको निर्वाचनमा सकेँ भने प्रयास गरौँला नभए पार्टीभित्र काम गर्ने ठाउँ धेरै छन् भन्नुभएको छ ।”