घर बाहिर निस्कन नसकेकी सुहाना

नायिका सुहाना थापाले दोश्रो फिल्म ‘ए मेरो हजुर ४’को सफलतापछि आफ्नो घर बाहिरको फिल्ममा काम गर्छिन् भन्ने अपेक्षा धेरैमा थियो । किनकी, उनले यो फिल्मको प्रचारका लागि नेपाल आउँदा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले बाहिरी ब्यानरको फिल्ममा पनि काम गर्ने बताएकी थिइन् ।

तर, उनी नेपाल आएको लामै समय भैसक्दा पनि होम प्रोडक्शन बाहिरको फिल्मको घोषणा हुन सकेको छैन । बरु, सुहाना नयाँ फिल्म ‘भागवत गीता’को तयारीमा लागेकी छिन् । यो फिल्मको सोमबार जनकपुरमा टिजरको छायांकन भएको छ । जहाँ, सुहानालाई मात्र फिचरिङ गरिएको छ ।

सुनिल कुमार थापा प्रोडक्शनबाट बन्ने तेश्रो फिल्ममा सुहाना काम गर्दैछिन् । जसलाई उनकी आमा झरना थापाले मात्र निर्देशन गरिरहेकी छिन् । सुहाना आफ्नो घर भित्रको फिल्ममा काम गर्दा सहज भएको बताउँछिन् । अझ, उनले त आफू घरबाटै धेरै कुरा सिकेर बलियो भैसकेपछि मात्र बाहिर आउने तर्क गरिरहेकी छिन् ।

यसको अर्थ, सुहानालाई अझै आफ्नो स्टारडममा विश्वास नभएको हो या के ? के दर्शकले झरना थापा बाहेक अन्य निर्देशकको फिल्ममा पनि सुहानालाई देख्न पाउलान् त ? तत्काल त कुनै छाँटकाँट देखिएको छैन ।