के अनमोलले बालेन शाहलाई समर्थन गर्लान् ?

लौरे चिन्ह लिएर काठमाडौंको मेयर बन्न दौडधुप गरिरहेका र्यापर बालेन शाहले फिल्म ‘ए मेरो हजुर ४’ रिलिजको समयमा खुलेरै समर्थन गरे । विशेषगरि, विदेशी फिल्मको थिचोमिचो नेपाली फिल्ममाथि भएको भन्दै उनले यो फिल्मका लागि अन्तरवार्ता दिए, प्रिमियरमा सहभागी भए । यसैले, बालेनले नेपाली फिल्म क्षेत्र र ‘ए मेरो हजुर ४’का लागि राम्रै गुन लगाएका छन् ।

यो फिल्ममा नायक अनमोल केसी, नायिका सुहाना थापा मुख्य भूमिकामा छन् । यी दुबैले महानागरका मेयरका उम्मेदवारलाई भोट हाल्न पाउँछन् । उसो भए के नायक अनमोल केसीले बालेन शाहले लगाएको गुनको पैचौं तिर्लान् त ? के आफ्नो फिल्म रिलिजको समयमा बालेनले लगाएको गुनको पैचौ अनमोलले सामाजिक संजाल र प्रत्यक्ष भोटिङबाट तिर्लान् त ?

अनमोलले अहिलेसम्म बालेनको पक्षमा भोट मागेको देखिएको छैन । बालेनले अनमोलको फिल्मका लागि साथ दिइरहँदा उनी मौन देखिएका छन् । अब, अनमोललाई समस्या के छ भने, उनका पिता भूवन केसी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भूवन कांग्रेस पार्टीमा प्रवेश गरिसकेपछि अनमोललाई बालेनको समर्थनमा पोष्ट गर्न पनि समस्या पर्न सक्छ ।

तर, अनमोलले आफ्नो स्वतन्त्रताको उपयोग गर्दै बालेनलाई साथ देलान् या मौन बस्लान्, त्यो भने हेर्न बाँकी नै छ ।