झरना र सुनिलः आफ्नो चल्दा गुहार माग्ने, अरुको चल्दा मतलबै नगर्ने ?

नेपाली फिल्मकर्मीहरु कुनै पनि समस्या आफ्नो मात्र हो भन्ने सोच्छन् । अनी, आफ्नो फिल्म चल्दा रोई कराई गर्छन् । यतीसम्म कि, फिल्म चल्दा फिल्म क्षेत्रले नै सहयोग गरेन भन्दै उनीहरुको ठूलो स्वर सुनिन्छ ।

फिल्म ‘ए मेरो हजुर ४’ चल्दा निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा, नायिका सुहाना थापाले खुबै गुनासो गरे । साउथको फिल्म ‘केजीएफ २’को पक्षमा बोलेको भन्दै केही नेपाली फिल्मीकर्मीको उछितो नै काँटे ।

यतिसम्म कि, विदेशी फिल्मलाई माया र नेपाली फिल्मलाई पाखा गरेको भन्दै प्रदर्शकको आलोचना गरे । लाग्थ्यो कि, यो देशमा ‘ए मेरो हजुर ४’मात्र एउटा यस्तो फिल्म बनेको छ, जसलाई सबैतिरबाट अन्याय भएको छ ।

यो फिल्मलाई फिल्मीकर्मीले खुबै सहयोग गरे । फिल्मको प्रिमियरमा पुग्ने, सामाजिक संजालबाट प्रचार गर्ने काम अधिकांश फिल्मीकर्मीले गरे । तर, आफ्नो चलेपछि सकियो ।

अब, झरना, सुनिल र सुहानाका लागि अरु फिल्म चलोस् कि नचलोस् के मतलव । आजबाट फिल्म ‘लक्का जवान र षट्कोण’ रिलिज भएको छ । ‘लक्का जवान’का निर्देशक शिवहरि पौड्याल, कार्यकारी निर्माता किरण केसी त ‘ए मेरो हजुर ४’को पक्षमा खुलेरै बोलेका थिए । उनीहरुले, नेपाली फिल्मलाई विदेशी फिल्मले पेल्न नहुने भन्दै वकालत नै गरेका थिए । किरणले त ठूलो विदेशी फिल्मसँग रिलिज गर्ने आँट गरेको भन्दै झरनालाई सलाम नै गरेका थिए ।

तर, यो फिल्म चल्दा सुनिल, झरना, सुहाना र यो फिल्मका नायक अनमोल केसीले शुभकामनाको एक शब्द पनि खर्चिन आवश्यक ठानेका छैनन् । आजबाट यो फिल्म देशभर रिलिज भएको छ । अधिकांश फिल्मीकर्मीले शुभकामना दिइरहँदा ‘ए मेरो हजुर ४’ टिमले एक शब्द खर्चिने पनि आवश्यकता ठानेन ।

आफ्नो फिल्म मात्र फिल्म, अरुको फिल्म केही पनि होइन भन्ने सोच यहाँ हाबी छ । अरु निर्माताको त पीडा नै होइन भन्ने सोचाइले नेपाली फिल्म क्षेत्र माथि उठ्न सकेको छैन ।