उत्कृष्ट बनेको भन्दै फिल्मीकर्मीले गरे ‘लक्का जवान’को प्रशंसा

आजबाट देशभरका हलमा रिलिज भएको फिल्म ‘लक्का जवान’लाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । काठमाडौंको सीभील मलमा आयोजित विशेष शोमा पुगेका फिल्मीकर्मी र पत्रकारले यो फिल्मलाई उत्कृष्ट भनेका छन् ।

कमेडी र भावूकता मिश्रित यो फिल्ममा हाँस्य कलाकारहरुको ठूलो भीड छ । शिवहरि पौड्यालको निर्देशनमा तयार भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरि पौड्याल, सुशिल पोखरेल, सरोज खनाल, राजाराम पौडेल, दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मको अधिकांश भाग कमेडी कथामा तयार पारिएको छ । फिल्मको क्लाइमेक्सले भने दर्शकलाई भावूक बनाउँछ । गाउँमा लक्का जवानहरुको अभाव हुँदा मानिसको निधन हुँदा पनि लास उठाउने कोही नहुदाको पीडा फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्म हेर्न पुगेका कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, भूवन केसी, सरोज खनाल, किरण केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सविन श्रेष्ठ, अनु शाह लगायतले यो फिल्मको प्रशंसा गरे । ध्रुव वन्तको निर्माणमा तयार भएको फिल्मले वैदेशिक रोजगारको पीडा पनि प्रस्तुत गरेको छ ।

फिल्मले शुक्रबार औषत व्यापार गरेको छ । फिल्मको वर्ड अफ माउथ बलियो भएका कारण शनिबारबाट व्यापार बढ्ने अपेक्षा गरिएको छ ।